तपाईँ सुन्दै हुनुहुन्छः

देश र जनताको हितमा कार्यक्रम ल्याउँदा निर्धक्क र पारदर्शिताका साथ प्रस्तुत हुन आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार तुल्याउन विभिन्न कार्यक्रम र रणनीति तयार गरिसकेको बताउनु भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको २३औँ वार्षिक उत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले वर्तमान समयमा इन्टरनेट र मोबाइल सेवा ग्रामीण क्षेत्रमा गुणस्तरीय नभएको भन्नुहुँदै सम्बन्धित निकायले गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले मुलुकमा सूचना र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका लगानीकर्तालाई आकर्षित गराउन प्राधिकरणले रणनीति बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले 4G द्धन् सेवाको समीक्षा गर्दै 5G को तयारीमा रहन प्राधिकरणलाई निर्देशन दिनुभयो । उहाँले देश र जनताको हितमा कार्यक्रम ल्याउँदा निर्धक्क र पारदर्शिताका साथ प्रस्तुत हुन आग्रह गर्नुभयो ।

सञ्चार सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले प्रविधिको विकाससँगै चुनौती पनि थपिएकाले डिजिटल नेपालको फ्रेमवर्कलाई साकार बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

सचिव बस्यालले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई सूचना प्रविधिमैत्री बनाउने कामको सुरुवात गरिसकेको जानकारी दिनुभयो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले 4G सेवा पुग्न नसकेका स्थानमा छिट्टै सेवा विस्तार गरिने जानकारी दिनुहुँदै प्राधिकरणको भाव योजना प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button