तपाईँ सुन्दै हुनुहुन्छः

चौरपाटी गाउँपालिकाको श्वेतपत्र : १ सय १ काम सार्वजनिक

अछाम । अछामको चौरपाटी गाउँपालिकाले आफूले गरेको महत्त्वपूर्ण काम सहितको श्वेत पत्र जारी गरेको छ ।

स्थानीय तहको निर्वाचन जनप्रतिनिधि आइसकेपछि ३ वर्षको अवधिमा गरेका कामको श्वेत पत्र घोषणा गर्दै अहिलेसम्म गरेका कामको विवरण सार्वजनिक गरेको हो ।

गाउँपालिकाले मुख्य उपलब्धिको रुपमा गरेका कामको श्वेत पत्र घोषणासहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले आज जनप्रतिनिधिको नेतृत्वमा दिगो विकास, सुशासन, सामाजिक रूपान्तरणका क्षेत्रमा भएका थुप्रै काम मध्ये मुख्य १०१ कामलाई क्रमबद्ध गर्दै श्वेत पत्रमार्फत सार्वजनिक गर्नुभयो ।

अध्यक्ष साउदले गाउँपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास र संस्थागत विकास तथा सेवा प्रवाहका बारेमा गरेका कामको सार्वजनिक गर्नु भएको हो ।

अध्यक्ष साउदले मुख्य उपलब्धिको रुपमा पालिका भित्रका सबै वडामा सडक सञ्जाल विस्तार, विद्युत् लाइन विस्तार, विद्युत् विस्तार नभएको टोलमा ४ सय ९५ घरधुरीमा सौर्य ऊर्जा वितरण, पानीका मुहान संरक्षणका लागि गाउँपालिकाका विभिन्न क्षेत्रमा ५ हजार बढी रिचार्ज पोखरी निर्माण, जिल्लामै पहिलो साक्षर गाउँपालिका घोषणा, सुदूरपश्चिममै ढिके नुन प्रतिबन्ध गरी आयोडिन नुनको पहुँच पर्याई लागू गर्ने पहिलो पालिका, गाउँपालिकामा चप्पल उद्योग स्थापना, कोदो संरक्षणका लागि फलेको कोदोसँग चामल सटही गरी कोदो बजारीकरण गरेर कैलालीका विभिन्न सहर पठाएको, स्वरोजगार मेला आयोजना गरी बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलन गरेर १ सय ६९ जनालाई स्वरोजगार बनाइएको लगायतका कामको सूचि प्रस्तुत गर्नु भएको हो ।

श्वेत पत्रमा समावेश भएका कामहरू हेर्दा सामाजिक विकासभन्दा भौतिक विकासलाई बढी प्राथमिकता दिइएको हो कि भन्ने प्रश्नमा अध्यक्ष साउँदले आगामी दिनमा सुझावलाई ग्रहण गर्दै अझै जनताको पक्षमा काम गर्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष माया कुँवरले न्यायिक समितिमार्फत कार्य सम्पादन भएका कामहरू तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले कर्मचारी संयन्त्रमार्फत भएका कामको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा ७ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, जिल्लास्थित विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरू लगायतको सहभागिता रहेको गाउँपालिकाका प्रेस सल्लाहकार राजेन्द्र कुँवरले जानकारी दिनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button