तपाईँ सुन्दै हुनुहुन्छः

मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौँ : मन्त्री अर्याल

काठमाडौं। कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

“हामीलाई शंका थियो । हामीले यसमा सफलता प्राप्त गर्यौं । मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौँ”, मन्त्री अर्यालले भन्नुभयो ।

तत्कालिन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती र दिर्घकालिन समाधाका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालय अगाडी बढेको उहाँले बताउनुभयो । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था गरिने उहाँको भनाई थियो ।

अनुमानको आधारमा मलको आपुर्ती नभइ तथ्य र आवश्यकताका आधारमा गर्ने गरी सबै प्रदेशसँग त्यहाँको आवश्यकता माग गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मलको आपूर्ति अनुमानको आधारमा होइन, तथ्य र आवश्यकताको आधारमा गर्ने गरी त्यहाँको प्रदेशहरूसँग आवश्यकता कति हो भन्ने माग गरिएको छ । त्यसको आधारमा प्रबन्ध गरिनेछ ।”

मन्त्री अर्यालले यस आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेट मध्येबाट ५ लाख मेट्रिक टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डिएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने रहेको बताउनुभयो ।

जसमध्ये यस आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइ सकेको छ भने १ लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको छ । गत वर्ष जम्मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल विक्रि भएको थियो ।

यस आबको आयातबाट जम्मा २ लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात (बफर स्टक) रहने देखिन्छ । पछिल्ला ३ वर्षहरुको बिक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा १ लाख ३ हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ ।

जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पुर्ती हुने देखिन्छ । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधीमा करिब ३ लाख मेट्रिक टन मल आपुर्तीको लागि यहि महिनाबाट आयात प्रक्रिया शुरु गरिने मन्त्री अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button