तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका विभिन्न स्थानमा आगलागी, तीन घर जलेर नष्ट 

सल्यान । गर्मी मौसम सुरु भएसँगै सल्यानका विभिन्न वनहरूमा आगलागी बढ्न थालेको छ ।   जिल्लाको कपुरकोट, छत्रेश्वरी, कुमाख गाउँपालिका र बागचौर नगरपालिकाका विभिन्न वनहरूमा आगलागी भएका छन् । वनमा लागेको आगो गाउँमा पस्दा तीन घर जलेर नष्ट भएको छ भने दुई वटा बाख्रा मरेका छन् ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ घोरडाँडाँ स्थित गोद्रे सामुदायिक वनमा लागेको आगो फैलिएर बस्तीमा आउँदा स्थानीय मोहनलाल शर्मा, पारस दाहाल र खुम बहादुर खत्रीको कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनुभयो । आगोले ज्ञान बहादुर घर्तीको दुई वटा बाख्रा जलेर मरेको डिएसपी थापाले बताउनुभयो । अहिले वनमा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
गर्मी मौसम सुरु भएसँगै सल्यानका दर्जन बढी सामुदायिक तथा अन्य वनहरूमा आगलागी भएको छ । नेपाली सेना, सशस्त्र, जनपथ प्रहरी, स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिने काम भइरहेको डिभिजन वन कार्यालयका प्रमुख रमेश गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button