भारतीय पक्षद्वारा अनधिकृत रुपमा बालुवा उत्खनन बन्द गर्ने सहमति
वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं १ पिपरडाढीमा भारतीय पक्षले अनधिकृत रुपमा ओरिया खोलाबाट बालुवा उत्खनन बन्द गर्ने सहमति भएसँगै स्थानीयवासी खुसी भएका छन् ।
वर्षौँदेखि लालपुर्जा समेत भएका नेपाली आबादी जग्गाबाट भारतीय पक्षले उत्खनन गरेर नदीजन्य पदार्थ ढुवानी गर्दा निकै पिडा भएको अवस्थामा स्थानीय प्रहरी प्रशासनको सक्रियतामा आजबाट भारतीय पक्षले नै उत्खनन गर्न रोक लगाएपछि आफूहरू निकै खुसी भएको स्थानीय शिक्षक कारी चौधरीले बताउनुभयो ।
पटक पटक नेपाली भूमिमा प्रवेश गरी भारतीय तस्करहरूले गिटी, ढुङ्गा, बालुवा उत्खनन गरेर लैजाने क्रममा रोक्न खोज्दा वर्षौँदेखि स्थानीय बासिन्दा तथा सुरक्षाकर्मी र भारतीय पक्षबिच झडप र विवाद हुँदै आएको थियो ।
वर्षौँदेखि नेपाली भूभागबाट भइरहेको उत्खनन नरोकिएको अवस्थामा अहिले दुई पक्षका सुरक्षाकर्मीको प्रयासबाट गिटी, ढुङ्गा, बालुवा उत्खनन गर्ने कार्य रोकिएपछि स्थानीय खुसी भएको शिक्षक चौधरीले बताउनुभयो ।
गत माघ ३० गते भारतीय पक्षले नेपाली भूमिमा प्रवेश गरी नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले ट्याक्टर नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो । झडपमा दुई जना सशस्त्र प्रहरी जवान घाइते भएका थिए ।
उत्पन्न विवाद मिलाउन नेपाल र भारत पक्षबाट सुरक्षा अधिकारीहरूबिच सहमति भई बालुवा उत्खनन बन्द गराइएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिनुभयो ।
बैठकमा प्रमुख जिल्ला अधिकारीसँगै पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, भारतीय पक्षबाट एसडिएम साहिला हर, एसएसबीका अधिकृतहरूको सहभागिता रहेका थियो ।
बैठकमा सशस्त्र प्रहरीलाई आक्रमण गर्नेमाथि भारतीय पक्षले कारबाही गर्ने, नेपाली भूमिमा प्रवेश गरी उत्खनन नगर्ने तथा सिमाना कायमका लागि दुई देशका नापी विभागसँग पहल गर्ने सहमति भएको पर्साका प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।
ओरिया खोलास्थित सिमाना निश्चित नहुन्जेलसम्म भारतीय पक्षका एसडिएमले तत्कालका लागि उत्खनन बन्द गर्न भारतीय प्रहरीलाई निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।
वर्षौँदेखि भारतीय पक्षले नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का दिँदै आएका र उत्खनन कार्यमा भारतीय गाउँ गदियानी भंगहाका स्थानीय सहभागी हुँदै आएका थिए ।
सहमतिपछि अहिले पिपरडाढीका बासिन्दाले शान्तिको अनुभूति गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्