तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत तीन हजार बढीलाई रोजगार  

बझाङ  । बझाङमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत १२ वटै स्थानीय तहका ३ हजार ५ सय २९ युवाले सय दिन बराबरको रोजगारी पाउने भएका छन् ।
सरकारले युवालाई लक्षित गर्दै कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मतमा बेरोजगारलाई लगाएर उनीहरूलाई रोजगारी दिने योजना अन्तर्गत गत वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको थियो ।
यो कार्यक्रम अन्तर्गत कामदारलाई सरकारले दैनिक पाँच सय १७ रुपैयाँ ज्याला दिने गर्छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत केन्द्रबाट ज्याला बापतको रकम मात्र आउने भएकाले स्थानीय तहले दक्ष जनशक्ति र आवश्यक निमार्ण सामाग्रीका लागि बजेट छुटाउन सके यो कार्यक्रम झनै प्रभावकारी र दिगो हुने जयपृथ्वी नगरपालिकाका रोजगार संयोजक रामचन्द्र धामीले बताउनुभयो ।
जिल्लामा यो कार्यक्रम अन्तर्गत कुलो, नहर, बाटो, खानेपानी निमार्ण, सामुदायिक वन संरक्षण, वृक्षारोपण, सडक मर्मत, तटबन्धन जस्ता निमार्णका कामहरू हुँदै आएका छन् ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बुङगल नगरपालिकामा ७ सय २० जना, जयपृथ्वी नगरपालिकामा ३ सय १६ जना, केदारस्यु गाउँपालिकामा ३ सय ९ जना, थलारा गाउँपालिकामा ४ सय ६५ जना, तलकोट गाउँपालिकामा ४ सय ४ जना, दुर्गाथली गाउँपालिकामा १ सय ५६ जना, छविसपाथीभेरा गाउँपालिकामा १ सय ३६ जना, खप्तडछान्ना गाउँपालिका १ सय २९ जना, सुर्मा गाउँपालिका २ सय ४४ जना मष्टा गाउँपालिकामा २ सय ३४, साईपाल गाउँपालिकामा १ सय २९ जना र वित्थडचिर गाउँपालिकामा २ सय ८७ जना गरी जिल्ला भरी ३ हजार ५ सय २९ जनाले रोजगारी पाउने छन् ।
यस आर्थिक वर्षमा मात्र स्वरोजगार कार्यक्रम अन्तर्गत करिब १७ करोड बराबरको विकास निमार्णका काम सुरु भएका छन् ।
जयपृथ्वी नगरपालिकाका ३ सय १६ जना बेरोजगारहरूले सय दिन बराबरको कामबाट १ करोड ६३ लाख ३८ हजार रुपैयाँ पाउने भएका छन् ।
बुङगल नगरपालिकामा यस आर्थिक वर्षमा ७ सय २० जनाले ३ करोड ७२ लाख २४ हजार पाउने भएका छन् ।
यस्तै यो कार्यक्रममा सडक निमार्ण, तटबन्धन र वडा कार्यालयमा ज्यालाको काम भइरहेको छ । काम गरे बापतको रकम सिधै उनीहरूको बैक खातामा जाने भएकाले आर्थिक अनियमितता हुने सम्भावना कम  छ ।
आर्थिक बर्ष २०७७/२०७८ को साउन भदौमा सबैभन्दा बढी बुंगल नगरपालिकामा ३ हजार ४ सय ३९ जना र सबैभन्दा कम साईपाल गाउँपालिकामा २ सय ५१ जनाले आवेदन दिएका थिए ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गत बर्ष विभिन्न पूर्वाधार निमार्णका कामहरू गरेको र यस बर्ष पनि पूर्वाधार विकासमै जोड दिइएको तल्कोट गाउँपालिका रोजगार संयोजक पुष्कर सिंहले बताउनुभयो ।
योजनाहरूको दिगोपनका लागि समेत गाउँपालिकासँग सहकार्य गरेर अघि बढिरहेका छौँ । सरकारले काम गर्दा हुने घटनालाई मध्यनजर गर्दै कामदारहरूको बिमा समेत गर्ने गरेको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button