सुन्तला उत्पादनमा कमी आएपछि भोजपुरका कृषक चिन्तित
भोजपुर। भोजपुरमा गत बर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएपछि कृषकहरु चिन्तित बनेका छन ।गत बर्षको तुलनामा भन्दा यो बर्ष सुन्तलामा देखिएको रोग र भारी वर्षातका कारण सुन्तला उत्पादनमा कमी आएको हो ।
जिल्लाको अरूण गाउँपालिका वडा नं १ याङपाङ, षडानन्द नगरपालिकाको वडा नं २, १०, र ११ को कुदाकाउले, साङपाङ, देउराली, भोजपुर नगरपालिका वडा नं ३ र ४ को दाँवा, टेम्केमैयुङ गाउँपालिकाको वडा नं २, ३, ७ र ८ को छिनामखु, अन्नपूर्ण, कोट, गोगने सुन्तला उत्पादनको लागि पकेट क्षेत्र घोषणा गरिएको छ ।
गतबर्षको तुलतामा यस बर्ष सुन्तला उत्पादनमा कमी आएका कारण आफुहरु समस्या परेको सुन्तला कृषकहरुको गुनासो रहेको छ । सुन्तलामा देखिएका समस्या समाधानका लागि कृषिसँग सम्वन्धित निकायले विषादी, नयाँ विरुवा, अनुदान र परामर्श दिनु पर्ने कृषकहरुको भनाई रहेको छ ।
यस बर्ष सुन्तलाको उत्पादन गत सालको तुलनामा कमी देखिएकोे कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्रको तथ्याङ्क अनुसार यो वर्ष कुल ५ सय ४० हेक्टर क्षेत्रमा गरिएको सुन्तला खेतीबाट जम्मा ३ हजार ६ सय ७२ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको छ । गत बर्ष कुल ५ सय ३० हेक्टरमा गरिएको खेतीले ४ हजार ७ सय १२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । विशेष गरी यो वर्ष भारी बर्षात, कम घाम लाग्नु र नयाँ पालुवा लाग्ने बेलासम्म सुन्तलाका दाना बोट मै रहनुले सुन्तला जातका फलफूलको उत्पादन घटेको केन्द्रका सुचना अधिकारी विश्वास आमगाईले बताउनुभयो ।
व्यावसायिक रूपमा लागेका सुन्तला कृषकहरु सुन्तला बगान मै देखिएको समस्याले उत्पादनमा कमी आएपछि निराश बनेका हुन् । यो वर्ष सुन्तला बगानमा अत्याधिक बर्षात, ढिलो फल लाग्नु, अमिलो स्वाद र सानो आकारको दाना लाग्नु जस्ता समस्याले यो वर्ष सुन्तलाले राम्रो आम्दानी पनि लिन नसकेको कृषक शरण कुमार प्रधानले बताउनु भयो । ‘पोहोर मंसिरमा फलेको सुन्तला यो साल चैत लाग्ने बेला मात्रै टिप्ने काम भएको छ’ प्रधानले भन्नुभयो ।’
भोजपुरको सुन्तला धनकुटा, हिले, धरान लगायत पूर्वी क्षेत्रको बजारमा विक्री तथा कोशेलीकोरूपमा समेत निकासी हुने गरेको छ भने सदरमुकामा शनिवार र बुधवार लाग्ने हटियामा समेत जिल्लामा उत्पादन भएको सुन्तला बिक्रीका लागि आउने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्