तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पले घर क्षति भएका थप ५४५ को निवेदन

चितवन। भूकम्पका कारण घरमा क्षति भएर मर्मतसम्भार मात्र गर्न निवेदन दिएकामध्ये ५४५ जनाले नयाँ घर बनाउनका लागि अनुरोध गरेका छन् । शुरुमा सामान्य मर्मतसम्भारबाट घर बनाउने भनिए पनि पछि उनीहरूले पूरै घर निर्माणका लागि निवेदन दिएका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनमा घर मर्मतका लागि आवेदन दिएका एक हजार ३७८ मध्ये ५४५ जनाले पूरै घर बनाउन निवेदन दिएका हुन् । एकाइका इञ्जिनीयर सुवास नेपालका अनुसार निवेदन परेकामध्ये २८३ को नाम प्राधिकरणबाट स्वीकृत भइसकेको छ । एक सय ६२ को नाम पठाइसकिएको र अन्य १०० को नाम पठाउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । घर मर्मत मात्रै गर्ने निवेदन दिएका (प्रबलीकरणमा परेका) मध्ये १७ जनाले दोस्रो किस्तावापतको रकमसमेत निकासा गरिसकेका छन् ।

घर प्रबलीकरण गर्नेहरूले पहिलो र दोस्रो किस्ता क्रमशः रु ५०/५० हजार अनुदान पाउनेछन् । नयाँ घर बनाउनेहरूले भने तीन किस्ता गरेर रु तीन लाख पाउनेछन् । सेवाग्राहीमध्ये ९८ जनाको नाम हटाउनका लागि सिफारिस गरिएको छ । सेवाग्राही सम्पर्कमा नआएका कारण उनीहरूको नाम हटाइएको हो ।

जिल्लामा भूकम्पको समयमा सात हजार ८६० घर पुनःनिर्माण गर्नुपर्ने भएको थियो । तीमध्ये हालसम्म छ हजार २०२ घर पुनःनिर्माणको काम सम्पन्न भएको छ । घर निर्माण सम्पन्न हुनेमा ८२ दशमलव नौ प्रतिशत रहेको नेपालले बताउनुभयो । उहाँका अनुसार पुनःनिर्माणतर्फ पहिलो किस्ता सात हजार ५५५ र दोस्रो किस्ता छ हजार ६२४ को निकासा भइसकेको छ ।

उनीहरूले पहिलो, दोस्रो र तेस्रो किस्तावापत क्रमशः रु ५० हजार, एक लाख ५० हजार र एक लाख पाउनेछन् । पुनःनिर्माणतर्फ ३०५ जनाको नाम लाभग्राहीबाट हटाउनका लागि सिफारिस गरिएको छ । भूकम्पका कारण जिल्लाका सातवटै पालिका प्रभावित भएका थिए । तीमध्ये जिल्लाको पहाडी क्षेत्रमा रहेको इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button