मोरङमा तेस्रो चरणको कोरोना खोप फागुन २३ गतेबाट शुरु हुने

मोरङ । मोरङ जिल्लामा तेस्रो चरणको कोरोना खोप अभियान कार्यक्रम यही फागुन २३ गतेबाट सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालय मोरङद्वारा विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा तेस्रो चरणको खोप कार्यक्रममा ५५ वर्ष उमेर माथिका तथा सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरूलाई लगाउने व्यवस्था मिलाइएको जानकारी गराइयो ।
तेस्रो चरण अन्तर्गत १ लाख ३५ हजार ४३९ जनालाई खोप लगाउने लक्ष्य रहेको कार्यालय प्रमुख डा सुरेश मेहताले बताउनुभयो । उहाँले खोप पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिँदै ढुक्क भएर खोपको प्रयोग गर्न आग्रह गर्नुभयो
खोप जिल्लाका सम्पूर्ण स्वास्थ्य केन्द्रबाट लगाइने व्यवस्था गरिएको छ । खोपका लागि आवश्यक दक्षता प्रदान गर्न फागुन २० देखि २२ गतेसम्म भ्याक्सिनेटरहरुलाई तालिमको व्यवस्था गरिने भएको छ ।
सम्पूर्ण स्वास्थ्य केन्द्रमा फागुन २२ गतेसम्म खोप पुर्याउन आवश्यक व्यवस्था गरिएको डा. मेहताले जानकारी दिनुभयो ।
मोरङ जिल्लामा पहिलो चरण अन्तर्गतको खोप कार्यक्रम गएको माघ १५ देखि २४ गतेसम्ममा कोशी कोभिड अस्पताल, रङ्गेली अस्पताल, मङ्गलबारे अस्पताल, नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, विराट नर्सिङ होम, विराट वृद्ध आश्रम र मोरङ कारागारबाट पाँच हजार ८५९ जनालाई खोप दिएको थियो ।
यसै गरी दोस्रो चरण अन्तर्गत खोप कार्य गएको फागुन १ देखि १० गतेसम्म कोशी कोभिड अस्पताल, रङ्गेली अस्पताल, मङ्गलवारे अस्पताल, पालिकाहरूको स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला प्रहरी कार्यालय, मोरङ, जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, परिवार नियोजन सङ्घ मोरङ र वीरेन्द्र सभा गृहमा गरी ५ हजार ३३४ जनालाई लगाइएको थियो ।
मोरङ जिल्लामा पहिलो र दोस्रो चरणमा गरी जम्मा ११ हजार १९३ जनालाई ९२.५ प्रतिशत प्रगति भएको खोप अधिकृत राम नन्दनले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्