कञ्चनपुरको बेलौरीमा वृहत् विज्ञान प्रदर्शनी
कञ्चनपुर | कञ्चनपुरको बेलौरीमा वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम गरिएको छ । बेलौरीमा रहेको विज्डम एकेडेमीले मङ्गलवार विद्यालयमा वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम गरेको हो ।
कार्यक्रममा आधारभूत र मावि तहका विद्यार्थीहरूले तयार गरेका कलात्मक तथा सन्देशमूलक विज्ञान सामग्रीका नमुना प्रदर्शन गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द सिंह थापाले जानकारी दिनुभयो । कार्यक्रममा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, विद्यालय निरीक्षक देव बहादुर चन्द, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, अभिभावकहरू, अन्य विद्यालयका प्रतिनिधि तथा विद्यार्थीहरू, सञ्चारकर्मी लगायतले अवलोकन गर्नुभएको विद्यालयका सहायक प्रधानाध्यापक टेक बहादुर शाहीले बताउनुभयो ।
विज्डम एकेडेमीले आयोजना गरेको वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम उदाहरणीय र महत्त्वपूर्ण भएको बताउँदै बुद्धिजीवी प्रेमसिंह बोहराले अन्य विद्यालयहरूले समेत यस्ता गतिविधि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समयमा थुप्रै बालबालिकाहरू मोबाइल तथा इन्टरनेटको गलत प्रयोगमा अभ्यस्त भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
त्यस्तै, अभिभावकहरू र अन्य अवलोकन कर्ताहरूले ग्रामीण क्षेत्रमै पनि विद्यार्थीहरूको कलात्मक क्षमता र लगनशीलताको सराहना गर्नुभएको छ । आगामी वर्षमा यस किसिमका कार्यक्रमलाई खुल्ला प्रतियोगिताका रूपमा आयोजना गर्ने विद्यालयको योजना रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्