भन्सार छली ल्याएका लाखौँ मूल्य बराबरका मूर्ति बरामद

रुपन्देही । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले भन्सार छली अवैध रुपमा नेपाल भित्र्याइएका लाखौँ रुपैयाँ मूल्य बराबरका मूर्ति बरामद गरेको छ ।
सशस्त्रले मङ्गलवार दिउँसो नेपाल–भारत सीमावर्ती भैरहवाको गाउँ बालापुरबाट लाखौँ रुपैयाँ मूल्यको मूर्ति, कपडा, भाँडासहित एउटा पिकअप बलेनो गाडी बरामद गरेको हो ।
सशस्त्रले लु १ ज ३५४९ नम्बरको बलेरो पिकअप गाडीबाट धातुबाट बनेका सानाठूला ३५ थान त्रिशूलसहित ६ सय ३७ थान मूर्ति, ४०८ पिस जेन्स सट, १०६ पिस लेडिज टाउजर, ६३ पिस स्टिलको पन्यू बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले बताउनुभयो । बरामद भएका ती सामानको बजार मूल्य ९ लाख ४२ हजार रुपैयाँभन्दा बढी छ ।

यस्तै, उक्त अवैध सामान ओसारपसारमा प्रयोग भएको गाडीको मूल्य करिब १३ लाख रुपैयाँ कायम गरिएको छ । विभिन्न समयमा भन्सार छलेर नेपाल भित्र्याइएका ती मूर्ति उक्त पटक पटक गरी जम्मा गरेर मङ्गलवार अन्यत्र लैजाँदै गरेको हुनसक्ने खनियाँले बताउनुभयो ।
यसबारे थप खोजी भइरहेको सशस्त्रले जनाएको छ । सशस्त्रले बरामद गरेका सबै सामान र गाडी भैरहवा भन्सार कार्यालयमा पठाइएको छ । सशस्त्र प्रहरीले गएको एक महिनामा रुपन्देहीका विभिन्न ठाउँबाट करिब ८७ लाख रुपैयाँ मूल्यका भन्सार छली नेपाल भित्र्याइएका अवैध सामान बरामद गरेर भैरहवा भन्सार कार्यालय बुझाएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्