तपाईँ सुन्दै हुनुहुन्छः

बजार अनुगमनलाई निरन्तरता

रुपन्देही  । बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । नगरपालिकाका उपप्रमुख गोमादेवि आचार्यको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले बुटवलभित्र बिक्री वितरण गर्दै आएका दूध तथा दूधजन्य उपभोग्य बस्तुहरूको अनुगमन गरेको छ ।
बजारमा बिक्री वितरण हुँदै आएको दूध तथा दुग्धजन्य वस्तुहरूको गुणस्तर राम्रो नभएको र पसलैपिच्छे फरक मूल्यमा बिक्री वितरण गर्दै आएको गुनासो आएपछि उपमहानगरपालिकाले अनुगमन शुरु गरेको हो ।
मङ्गलवार बुटवलका विभिन्न चोकमा वितरण गर्दै आएका निष्ठा एग्रो फर्म छपिया, जयदेव डेरी उद्योग देबदह, शिवशक्ति सहकारी मणिग्राम, न्यौपाने दूध केन्द्र दिपनगर, मोनिक कमला किराना एण्ड दुधडेरी गोलपार्कलगायतका डेरी उद्योगहरूको अनुगमन गरिएको छ ।
सो अनुगमनको क्रममा बोल्दै उपप्रमुख गोमादेवि आचार्यले दूध वितरकहरूले बाहिर खुल्ला रुपमा बिक्री गर्दै आएको दूधको गुणस्तर कम हुने भएकाले दूधलाई व्यवस्थित रुपमा वितरण गर्न आग्रह गर्नुभयो । उहाँले सामान्य अवस्थाको मानिसको लागि मात्र नभई बालबालिका, वृद्धावस्था र बिरामीहरूको लागि दूध महत्त्वपूर्ण हुने भएकोले सोही अनुसार मानव स्वास्थ्यलाई ख्यालमा राखी गुणस्तरमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
उपप्रमुख गोमादेवि आचार्यसँगै रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, उपभोक्ता हित संरक्षण समिति बुटवलका अध्यक्ष समुन्द्र जिसी, खाद्य अनुसन्धान अधिकृत बिमलकुमार दाहाल, वरिष्ठ अधिकृतहरू भुवाप्रसाद लुइंटेल, टोपलाल शर्मालगायतको सहभागितामा अनुगमन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button