तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालद्वारा आयोजित त्रि-दिवसीय अन्तरक्रिया तथा तालिम सम्पन्न

पोखरा । रेडियो प्रसार सेवा विकास समिति, रेडियो नेपालले आयोजना गरेको ‘समावेशी कार्यक्रम तथा समाचारको विषय छनौट र समुदायको सहभागिता’ विषयक अन्तरक्रिया तथा तालिम पोखरामा सम्पन्न भएको छ ।

तीन दिनसम्म सञ्चालित उक्त तालिममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका रेडियो नेपालमा कार्यरत रिपोर्टरहरू तथा प्रादेशिक कार्यालय पोखरामा कार्यरत सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । तालिममा समावेशी प्रसारणमा प्रादेशिक प्रसारण कार्यालयको समाचार र कार्यक्रम संलग्न कर्मचारीका साथै गण्डकी प्रदेशका संवाददाताहरूसँग अन्तरक्रिया गरिएको थियो ।

तालिमको पहिलो दिन भाषा विज्ञहरू जुनाकुमारी गुरुङ, लोकबहादुर थापा लगायतले आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

दोस्रो दिन समावेशी प्रसारण प्रदेश प्रसारणको समस्या र समाधानका विषयमा रेडियो नेपाल, पोखराका प्रमुख सुरेन्द्र यादव तथा समावेशी पत्रकारिताको अवधारणा र अभ्यासको विषयमा मुख्य सम्पादक जनार्दन विष्टले प्रस्तुति दिनुभएको थियो ।

तेस्रो दिन रेडियो कार्यक्रमका विभिन्न फरम्याट र सृजनात्मक कार्यक्रम उत्पादन गर्ने तरिका विषयमा जनार्दन विष्ट, रेडियो कार्यक्रम उत्पादनमा समावेशी दृष्टिकोण र रेडियो नेपालको अभ्यास विषयमा मुख्य कार्यक्रम अधिकृत ताराप्रसाद बस्ती, समावेशी प्रसारणमा प्रादेशिक प्रसारण कार्यालयको समाचार र कार्यक्रम तथा रिपोर्टको विषयमा प्रमुख संवाददाता प्रमोद कुमार सिंह र समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल तथा समाचार र कार्यक्रम उत्पादन एवम् प्रसारणमा प्रविधिको प्रयोगका बारेमा वरिष्ठ प्राविधिक अधिकृत सुवास साहले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

तालिम आफूहरूका लागि उपलब्धिमूलक बनेको संवाददाताहरूले बताउनुभएको छ ।

उक्त तालिमको उद्घाटन आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button