तपाईँ सुन्दै हुनुहुन्छः

सन्थाल जातिको एकीकृत बस्ती शिलान्यासका लागि प्रधानमन्त्री ओली उर्लाबारी जानुहुदै

file photo
झापा । प्रधानमन्त्री केपी शर्मा ओली भोलि मङ्गलवार मोरङको उर्लाबारी जानुहुने भएको छ । शहरी विकास मन्त्रालयले मोरङको उर्लाबारी नगरपालिकामा बनाउन लागेको सन्थाल जातिको एकीकृत बस्ती शिलान्यासका लागि प्रधानमन्त्री ओली उर्लाबारी जानुहुने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको उक्त बस्ती निर्माणका लागि मन्त्रालयले गुरुयोजना तयार गरिसकेको छ । भोलि प्रधानमन्त्री ओलीले सो बस्ती शिलान्यास गर्ने कार्यक्रम छ ।
उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा ३० करोड लागतमा एक सय ३२ घर निर्माण हुने सो बस्ती बनेपछि नगरपालिकाका जग्गा नभएका १०६ परिवार सन्थाल र २६ परिवार उराव जाति प्रत्यक्ष लाभान्वित हुनेछन् ।
अहिले मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो । पुरै बस्ती निर्माणका लागि करिब ३० करोड रकम खर्च हुने जनाइएको छ ।
समग्र बस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको निर्माण गर्ने गरी गुरुयोजनाको डिजाइन गरिएको हो ।
शहरी विकास मन्त्री प्रभु साहले पद सम्हालेको दुई महिनामै यो दोस्रो ठुलो परियोजनाको शिलान्यास हुन लागेको हो । यसअघि गत माघ १७ गते प्रधानमन्त्री ओलीले चितवनको भरतपुरमा महानगर सिटी हलको शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button