तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सरकारले जग्गा उपलब्ध गराउने

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सरकारले करिब १०० विघा जग्गा उपलब्ध गराउने भएको छ ।

फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले देवदह नगरपालिका वडा नम्बर ८ स्थित बुद्धमावली सामुदायिक वनसहितको ६१.२५ हेक्टर अर्थात् लगभग १०० विघा जग्गा दिने निर्णय गरेको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार तिलक आचार्यले सरकारले माग गरेअनुसार जग्गा उपलब्ध गराउन पहल गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

रजिस्टार आचार्यले अब छिट्टै गुरुयोजना बनाएर अघि बढ्ने बताउनुभयो । ०६१ सालमा स्थापना भएको विश्वविद्यालय ०७१ मा मात्रै लुम्बिनीमा आएको हो । त्यसअघि विश्वविद्यालय सम्पर्क कार्यालयका रुपमा काठमाडौँमा मात्रै सीमित रहेको थियो ।

अहिले लुम्बिनीमा सुविधा सम्पन्न पूर्वाधार निर्माण भएका छन् । केन्द्रीय कार्यालय भवन, पुस्तकालय, छात्रावास, आवास गृह, बौद्ध स्तुपासहितका संरचना लुम्बिनीमा तयार भएका छन् । विभिन्न ८ वटा क्याम्पसलाई सम्बन्धन दिएको छ ।

विश्वविद्यालयले तिलौराकोट, लुम्बिनी, बुटवल र देवदहमा पठनपाठन गराइरहेको छ । अहिले विश्वविद्यालयमा करिब ३ हजार विद्यार्थी अध्ययनरत छन् । देवदहमा प्राप्त भएको जग्गामा तपोवनसहितको पूर्वाधार निर्माण गर्ने योजना रहेको छ ।

त्यसको गुरुयोजना कोरियन प्रोफेसर क्वाकको टिमले बनाइरहेको छ । क्वाक लुम्बिनीको बृहत्तर गुरुयोजना बनाउने योजनाकार हुन् । लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारका लागि जग्गा अपुग रहेको थियो । विश्वविद्यालयले पाँच वर्षदेखि देवदहमा जग्गा प्राप्तिका लागि पहल थालेको थियो ।

वनको जग्गा प्राप्तिका लागि अन्य स्थानमा जग्गा खरिद गरेर शोधभर्ना गर्नुपर्ने या सो बापतको रकम बुझाउनुपर्ने कानुनी प्रावधान छ । अर्थ मन्त्रालयले विश्वविद्यालयका लागि जमिन दिँदा चाहिने करिब २० करोड रकम वन मन्त्रालयलाई दिने प्रतिबद्धतापछि मन्त्रीपरिषद्ले जग्गा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button