तपाईँ सुन्दै हुनुहुन्छः

९ जना खेल पत्रकार सम्मानित

काठमाडौँ । सुरकारले ९जना खेल पत्रकारलाई सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री दावा तामाङले मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान गर्नुभयो ।

मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार नौ खेल पत्रकारलाई खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । राससकर्मी कार्की महिलातर्फ रु २५ हजार नगदसहित पुरस्कृत हुनुभएको हो । यस्तै नागरिक दैनिकका कमल खत्रीलाई रु ५० हजार नगदसहित पुरस्कृत गरिएको छ । यसैगरी सम्मानित हुनेमा प्रदेश नं १ बाट हाम्रो खेलकुद डटकमका हिमालचन्द्र खरेल, प्रदेश नं २ बाट साप्ताहिक पत्रिका खेलकुदका रञ्जनकुमार भण्डारी, वाग्मती प्रदेशबाट नागरिक दैनिकका अनिलमल्ल ठकुरी, गण्डकी प्रदेशबाट कान्तिपुरका माधव अर्याल, लुम्बिनी प्रदेशबाट नेप्लेज डटकमका मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट बाह्रखरीका भुपेश उपाध्याय तथा सुदूरपश्चिम प्रदेशबाट खबरकुञ्जका सिताराम ओझा रहेका छन् । उहाँहरूलाई जनही रु २५ हजार प्रदान गरिएको छ ।

सो अवसरमा मन्त्री तामाङले मन्त्रालय सदैव खेलकुदको विकासका लागि लागि परेको बताउनुभयो । युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले सम्मान कार्यक्रम मन्त्रालयको नियमति कार्यक्रम भएको बताउनुभयो । उहाँले आगामी दिनमा सम्मानको दायरा अझै बढाउँदै लैजाने उल्लेख गर्नुभयो ।

खेलकूदको माध्यमबाट विश्वस्तरमा नेपालको नाम चिनाउन सजिलो हुने भएकाले सरकारले खेल क्षेत्रलाई विशेष महत्व दिनुपर्नेमा न्यौपानेले जोड दिनुभयो । नेपाल खेलकूद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ ले खेल पत्रकारको सम्मानका लागि मन्त्रालयले गरेको कामको प्रशंसा गर्नुभयो ।

खेलकूद पत्रकार पुरस्कारका लागि मन्त्रालयले दुई महिनाअघि दरखास्त आह्वान गरेको थियो । मन्त्रालयमा आएका दरखास्तलाई पुरस्कार छनोट समितिले छनोट गरी मन्त्रालयलाई बुझाएको थियो । पुरस्कार छनोट समितिमा नेपाल पत्रकार महासङ्घ, खेलकुद पत्रकार मञ्च, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रेस काउन्सिल नेपालका प्रतिनिधि सदस्य रहेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button