५६ वर्ष अगाडिको डाँका र जालसाज मुद्दाका फरार व्यक्ति पक्राउ

सप्तरी । सप्तरीमा ५६ वर्ष अघि डाँका र जालसाज मुद्दामा अपराध ठहर भई सजाय तोकिएका फरार रहेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको साबिक पकरी गाविस १ घर भई हाल महदेवा गाउँपालिका १ का ७६ वर्षीय श्रीलाल यादवलाई सजाय तोकेको ५६ वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिनु भयो ।
पक्राउ गरिएका श्रीलाल माथि डाका मुद्दामा १० वर्ष र जालसाज मुद्दामा ६ महिना कैद सजाय तोकिएको डिएसपी साहले बताउनुभएको छ । स्थानीय सुरैतलाल यादवको जाहेरी तत्कालीन सरकार वादी रहेको डाका र जालसाज मुद्दामा २०२३ साल भदौ ३ गते श्रीलाललाई १० वर्ष कैद सजायको फैसला गरेको डिएसपी साहले बताउनुभयो ।
यस्तै सुरैतलालकै जाहेरीले अर्को जालसाज मुद्दामा २०२१ साल जेठ १९ गते श्रीलाललाई ६ महिना कैद सजाय तोकेको थियो ।
५६ वर्ष अघि कैद सजायको फैसला सुनाए पनि श्रीलाललाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । फरार अपराधी पक्राउ गर्ने अभियान अन्तरगत सप्तरी प्रहरीले गत फागुन १४ गते उनकै गाउँबाट श्रीलाललाई पक्राउ गरेको डिएसपी साहले जानकारी दिनुभयो ।
पक्राउ गरिएका श्रीलाललाई आज मात्रै जिल्ला अदालतमा पेस गर्दा अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि कारागार पठाइएको डिएसपी साहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्