केरुङ नाका सोमबारदेखि पुनः सञ्चालन हुने
रसुवा । केरुङस्थित चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनः सञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो ।
सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनु भयो ।
रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन तथा स्वास्थ्य जोखिम नरहेको विषयमा विश्वस्त पार्न परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले मेहनत गर्नुपरेको थियो ।
केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प हुँदा राज्यलाई दैनिक दुई करोडभन्दा बढी राजस्व योगदान गरिरहेको उक्त अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द भएपछि राज्यलाई घाटा मात्र भएको छैन स्थानीय तथा नाकामा कारोबार गर्ने व्यापारीलाई समेत समस्या भएको छ ।
रसुवागढी भन्सारका कोरोना पोजेटिभ देखिएका मजदुर सङ्क्रमणमुक्त भइसकेको तथा उनीहरूले खोपसमेत लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पुर्याउन नसकिएको कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताउनुभयो ।
केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेकट्रोनिक लगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट जडीबुटी तथा हस्तकलाका सामग्री निकासी हुने गरेको थियो ।
सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भने दैनिक ५–७ वटा ‘कन्टेनर’ आउन थालेका तर नेपाली सामान निकासी हुन नसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्