आँखा शिविरमा करिब चार सयले सेवा पाए
भोजपुर । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरको पूर्वी अरुण गाउँपालिकाको प्याउलीमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा शिविरमा करिब चार सयले सेवा पाएका छन् ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँको सहयोगमा अरुण गाउँपालिकाको प्याउलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा ३ सय ४९ जनाले आँखा परीक्षण गराएका छन् भने ४८ जनाको आँखाको शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रुपक पुलामीले जानकारी दिनुभयो ।
गाउँपालिका भित्रका आँखा रोगीहरूका लागि सञ्चालन भएको शिविरमा अरुण गाउँपालिकाको ७ वटै वडा र आसपासका पालिकाहरूबाट समेत आँखाका रोगीहरू आएको स्वास्थ्य शाखा संयोजक पुलामीले बताउनुभयो ।
अरुण गाउँपालिकाको आयोजना तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा भएको शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्र विशेषज्ञ डा. इन्दुप्रसाद ढुङ्गेल, पिजि रेजिडेन्ट डा. सुनिता तिमल्सिना, सिनियर नेत्र सहायक केशव देवकोटा लगायतको टिमले आँखा सम्बन्धी सेवा दिनु भएको थियो ।
पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रहरूमा आँखाका रोगीहरूको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक अवस्थाका कारण सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन नसक्ने आँखा रोगीहरूका लागि पनि स्थानीय स्तरमा नै सञ्चालन भएका यस्ता शिविरले फाइदा पुगेको गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्