तपाईँ सुन्दै हुनुहुन्छः

‘अपराधको रोकथाम तथा नियन्त्रणका लागि सबैको सहयोग आवश्यक’

रुपन्देही  ।  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकको सहयोग विना प्रहरीले काम गर्न नसक्ने भन्दै अपराधको रोकथाम तथा नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको भवन उद्घाटन गर्नुहुँदै उहाँले नयाँ र आधुनिक भवनबाट ट्राफिक प्रहरीको सेवा पनि नयाँ र आधुनिक किसिमको हुनुपर्ने बताउनुभयो ।

प्रहरीको व्यवहार रुग्ढ हुने गरेको गुनासो आउने गरेको भन्दै उहाँले व्यवहारलाई विनम्र बनाउन प्रहरीलाई निर्देशन दिनुभयो ।

उहाँले प्रहरीले व्यवहार रुग्ढ नभई विनम्र हुनुपर्ने बताउनुहुँदै विनम्र भनेको कमजोरी नभएको जनाउँदै प्रहरीलाई आत्मबल बढाउन आग्रह गर्नुभयो ।

भवन निर्माण सम्पन्न गराउनमा सहयोग गरेका सहयोगीहरूलाई धन्यवाद दिनुहुँदै महानिरीक्षक थापाले प्रहरीलाई सहयोग गर्ने सहयोगीहरूलाई उदाहरण सुनाउनुहुँदै सहयोग गरे तापनि कानुन मिच्न छुट कसैलाई नरहेको स्पष्ट पार्नुभयो ।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी रवीन्द्र बहादुर धानुकले निर्माण भएको भौतिक संरचनामा अपनत्वको भावना जागृत गर्न समुदाय र प्रहरी बीचको सम्बन्ध प्रगाढ राख्दै प्रहरी कर्मचारीलाई राज्यप्रति जबाफदेही बनाउन अपरिहार्य रहेको बताउनुभयो ।

डेढ करोडको लागतमा दुई अढाई तल्लाको ट्राफिक प्रहरीको भवन निर्माण भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button