अवैध उत्खननमा संलग्न सात टिपर र एक एक्स्काभेटरलाई जरिवाना

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले नदीजन्य वस्तु अवैध उत्खनन गरेको भन्दै सात वटा टिपर र एउटा एक्स्काभेटर नियन्त्रणमा लिएको छ ।
प्रहरीले म्याग्दे गाउँपालिका–५ स्थित सेती नदीको किनारबाट अवैध रुपमा बालुवा उत्खनन एवं लोड गर्दै गरेका ग१क २८७९ नं. को एक्स्काभेटर सहित ग१ख ८७७७ नं. को टिपरलाई नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले ती एक्स्काभेटर र टिपर लाई फेला पारी नियन्त्रणमा लिई पठाएकामा म्याग्दे गाउँपालिकाले ४० हजार जरिवाना गराएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताउनुभयो ।
यस्तै, बन्दिपुर–६ सराङघाटमा अवैध सञ्चालनको अभियोगमा बन्द गरिएको नमुना ग्रिड एण्ड क्रसर उद्योग प्रा.ली.बाट अवैध रूपमा ढुङ्गा गिट्टी बालुवा बोकी व्यास–१४ एक्लेभट्टी स्थित साराङघाट तर्फाट दमौली तर्फ ल्याउदै गरेको अवस्थामा ग१ख ४७२७, ग१क ३४२३, ग१ख ९२५३ र ग१ख ७९९७ नं. को टिपरलाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा पठाइएको प्रहरीले जनाएको छ ।
यसैगरी, भानु नगरपालिका–९ दमालघाट स्थितबाट अवैध रुपमा बालुवा उत्खनन गरी लिई हिँडेको ग१क ५२२० नं. को टिपरलाई प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई भानु नगरपालिकाको कार्यालय बुझाएकोमा २० हजार जरिवाना गरिएको बताइएको छ ।
त्यस्तै, म्याग्दे गाउँपालिका स्थित सेती दोभान घाटबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन गरी ओसार पसार गर्दै गरेको अवस्थामा ग१क ४२९० को टिपरलाई प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई म्याग्दे गाउँपालिकाको कार्यालय तनहुँमा बुझाएकोमा २३ हजार रुपैयाँ जरिवाना भएको तनहुँ प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्