प्रधानमन्त्रीका पक्षमा सयभन्दा बढी सांसद: मुख्य सचेतक भट्टराई
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिले पनि सयभन्दा बढी प्रतिनिधिसभा सदस्य रहेको जिकिर गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा भट्टराईले प्रधानमन्त्री ओली अल्पमतमा नरहनुभएको र आवश्यक पर्दा बहुमत सिद्ध गरेर देखाइदिन सकिने बताउँदै प्रधानमन्त्रीलाई बिचैमा हटाउन खोजिएपछि मध्यावधि निर्वाचनको घोषणा भएकामा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनः स्थापनाको फैसलासँगै संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट गर्नुभयो ।
प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बस्नेछ । संसद्मा अविश्वासको प्रस्ताव पेश भएमा र पार्टीको ह्विपविरुद्ध कुनै सदस्य लागेमा विधानबमोजिम कारबाही गरिने उहाँको उद्घोष थियो । नेता भट्टराईले प्रधानमन्त्रीविरुद्ध नेकपाको सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत आरोपपत्र फिर्ता, प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई कार्यकाल पूरा गर्न दिने सहमति भएमा नेकपाको एकता कायम रहने पनि बताउनुभयो ।
उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्थागत रुपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि स्मरण गराउनुभयो । प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले शुक्रवार मुख्य सचेतक देवप्रसाद गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गर्नुभएको थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्