सङ्घीय सरकार मातहत आयो भानु जन्मस्थल
तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नाममा गठन भएको भानु जन्मस्थल विकास समिति पुनः सङ्घीय सरकार मातहत आएको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तह मातहत राखिएको विकास समितिलाई पुनः सङ्घीय सरकार मातहत राखिएको हो ।
शुक्रवार भएको निर्णयसँगै भानु जन्मस्थल विकास समितिको सम्पूर्ण जिम्मा अब सङ्घीय सरकारले गर्ने तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विकास समितिलाई नगरपालिका मातहत राखिएको परिपत्र मन्त्रालयबाट प्राप्त भए पनि आफूहरूले यसलाई सङ्घ सरकार मातहत नै राख्न पटक–पटक ध्यानाकर्षण गराएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताउनुभयो ।
भानु जन्मस्थल विकास समिति यति बेला पदाधिकारीविहीन छ । समितिमा अध्यक्ष र कार्यकारी निर्देशक नियुक्त हुनुभएको छैन । भानुभक्त आचार्यको स्मृतिमा शिखरकटेरीमा रामायण भवन निर्माण भए पनि कसले संरक्षण गर्ने भन्ने द्विविधा रहँदै आएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु तीन करोडको लागतमा रामायण भवन निर्माण भएको छ ।
भानु गृह करिब रु ६८ लाखको लागतमा निर्माण हुने भनिए पनि निर्माण कार्य शुरु नभएको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो । विसं २०५७ सालमा भानु जन्मस्थल विकास समितिको सहयोगमा आदिकवि भानुभक्त नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर पुनर्निर्माण गरिएको थियो ।
जङ्गलबिचको खरको छानोको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो ।
शिखरकटेरीमा निर्माण गर्ने भनिएको भानु गृहको काम भने हालसम्म अगाडी बढ्न सकेको छैन । पश्चिमाञ्चल विकास मञ्चले भानु गृहको पुनः निर्माणका लागि शिलान्यास समेत गरेको थियो ।
विसं २०७३ साल चैत्र २२ गते ‘भानु शिखर कटेरी’ को तत्कालीन मुख्य सचिव डा. सोमलाल सुवेदी, पूर्व मुख्य सचिव लिलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका तत्कालीन अध्यक्ष रामकाजी कोनेले शिलान्यास गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्