नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना नेता पक्राउ

सप्तरी । सरकारले प्रतिबन्ध लगाएको नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना नेतालाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी जिल्लाका जनसत्ता प्रमुख खडक नगरपालिका वडा नम्बर ३ बनरझुल्ला निवासी आदर्श भनिने ५२ बर्षीय रामनाथ मण्डल छन् । यस्तै सिरहा र सप्तरीका समेत सदस्य रहेका राजविराज नगरपालिका वडा नम्बर ४ निवासी उदय भनिने उदयनाथ मण्डल र सप्तरीकै बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बस्ने २५ बर्षीय रामकृष्ण मण्डल रहेका छन् ।
बिभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधीसँग चन्दा माग्दै धम्की दिने गरेको सूचना प्राप्त भएपछि उनीहरुलाई जिल्लाको बिभिन्न ठाउँबाट पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुको साथबाट चन्दा माग्दै धम्की दिने सीमसहितको एक थान मोवाइल र अन्य ३ थान मोवाइल, जनबिद्रोह लेखिएको पुस्तक एक थान, बीर मधेसी लेखिएको पुस्तक, युवा संगठन नेपाल साधारण सदस्यता ठेली १ थान, अखिल नेपाल महिला संघ क्रान्तिकारी लेखिएको आर्थिक सहयोग बारेको पत्र, युवा संगठन नेपालको आर्थिक सहयोगबारेको पत्रसहितका सामग्री बरामद भएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्