आर्थिक समृद्धिका लागि औद्योगिकीकरणमा सरकारको जोडः मन्त्री भट्ट
मकवानपुर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देशको आर्थिक समृद्धिका लागि सरकारले औद्योगिकरणमा जोड दिएको बताउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ स्थित मयुरधाप औद्योगिक क्षेत्रको शुक्रवार शिलान्यास गर्नुहुँदै मन्त्री भट्टले सरकारले औद्योगीकरण मार्फत रोजगारी सृजना गर्ने र आर्थिक समृद्धि हासिल लक्ष्य लिएको बताउनुभयो ।
देशको समृद्धि र विकासका लागि राजनीतिक स्थिरता हुनुपर्नेमा घरभित्र नै ‘प्रतिपक्ष’ को भूमिका खेल्नेहरूका कारण केही अप्ठ्यारो भएको उहाँको भनाई थियो । मन्त्री भट्टले अर्थतन्त्रलाई गतिशील र आत्मनिर्भर उन्मुख गराउन सङ्घीय सरकारले प्रत्येक प्रदेशमा नयाँ औद्योगिक क्षेत्रको विस्तार गर्न लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई औद्योगिक नगरको रुपमा विकास गरिने उल्लेख गर्नुभयो । उहाँले उद्योगको नाममा जग्गा ओगट्ने प्रवृत्तिको अन्त्य गरी नयाँ सोचका साथ उद्योग सञ्चालन गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले आयातमुखी भन्दा निर्यातमुखी उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । निर्यातमुखी उद्योगहरू सञ्चालनमा नआएसम्म आर्थिक परिवर्तन नहुने उहाँको भनाई थियो ।
यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले औद्योगिक क्षेत्र व्यवस्थित रुपमा सञ्चालन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्र सञ्चालनमा आउने कुनै पनि समस्या समाधानका लागि आवश्यक समन्वय र सहजीकरण गर्न तयार रहेको समेत बताउनुभयो ।
बाग्मती प्रदेशको राजधानी हेटौँडा बजारबाट करिब ७ किलोमिटर दक्षिणतर्फ हेटौँडा–पथलैया सडकको पशुपतिनगरबाट करिब ३ किमी पश्चिममा अवस्थित उक्त क्षेत्रमा २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधाप औद्योगिक क्षेत्र बनाउने गर्ने निर्णय गरेको थियो ।
औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले अघिल्लो दुई वर्षदेखि बजेट विनियोजन गरिरहेको छ, भने चालु आवमा पनि करिब ३१ करोड रुपियाँ विनियोजन गरेको छ । औद्योगिक क्षेत्रको डीपीआर तयारीपछि मुद्रण विभागले नोट छाप्ने उद्योग स्थापनाको लागि सम्झौता समेत गरिसकेको छ ।
१९९ विगाह १७ कट्टा क्षेत्रफलमा फैलिएको उक्त औद्योगिक क्षेत्रमा ७ देखि १४ रोपनी क्षेत्रफलका ६२ वटा प्टलहरु निर्माण हुने बताइएको छ । अबको एक महिनाभित्र उद्योग स्थापनाका लागि आशय पत्र आह्वान गरिने, पत्रका आधारमा ६ महिनाभित्र उद्योगीलाई चाहिने न्यूनतम पूर्वाधारहरू (अस्थायी सडक, बत्ती र पानी) व्यवस्थापन गरी औद्योगिक क्षेत्र र उद्योगीले सँगसँगै आआफ्ना पूर्वाधार निर्माण कार्य थालनी गरी २ वर्षभित्र सम्पन्न गरेर उद्योग सञ्चालनमा ल्याउने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्