पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण

तनहुँ । पर्यटन प्रवर्द्धनमा सञ्चारको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिइएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेशद्वारा बिहीबार तनहुँको पर्यटकीय स्थल आधी मूलमा आयोजित आँबुखैरेनी गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा सञ्चारको भूमिका विषयक अन्तरक्रियामा पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण माध्यम सञ्चार नै भएकामा जोड दिइएको हो ।
कुनै पनि पर्यटकीय स्थलको प्रवर्द्धनका लागि त्यहाँका वास्तविकतालाई जनसमक्ष पुर्याउने महत्त्वपूर्ण माध्यम सञ्चार भएको जनाउँदै वक्ताले प्रकृति र संस्कृतिको संरक्षण गर्दै त्यसको उजागर गर्नुपर्ने बताएका छन् ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानू हरिबहादुर चुमानले पर्यटन प्रवर्द्धनमा गण्डकी प्रदेश सरकारले जोड दिएको बताउनुहुँदै आँबुखैरेनी गाउँपालिकाका आँधिमूल, छिम्केश्वरीलगायत पर्यटकीय स्थलको प्रवर्द्धन आवश्यक भएको बताउनुभयो ।
पर्यटन प्रवर्द्धनमा सञ्चारको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतले पर्यटन र पत्रकारिताबीच निकट सम्बन्ध भएको जनाउनुहुँदै कुनै पर्यटकीय स्थलको समाचार सम्प्रेषण गर्दा त्यसको पृष्ठभूमिका साथै आवश्यक पर्ने तथ्य समेट्नुपर्ने तथा सञ्चारकर्मी नियमित रुपमा अद्यावधिक हुनाका साथै सूचना स्रोतबारे जानकार बन्नुपर्ने बताउनुभयो ।
आँबुखैरेनी गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार आँबुखैरेनीलगायतको उजागरका लागि सञ्चारकर्मीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
राससका प्रमुख समाचारदाता राजु शाक्यले प्रत्येक पर्यटकीय स्थलको प्रवर्द्धनका लागि ऐतिहासिक एवं सांस्कृतिक पक्षलाई सँगसँगै ल्याउनुपर्ने तथा समय सापेक्ष रुपमा प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
फोनिज गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्थाले आँबुखैरेनीको पर्यटकीय सम्भावनाको उजागरका लागि फोनिज गण्डकी प्रदेशका तर्फबाट साथ र सहयोग दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पर्यटन विज्ञ हरिसिंह गुरुङ, फोनिज गण्डकी प्रदेशका इन्चार्ज हुमबहादुर तमु, महासचिव रुद्र श्रीस, आँबुखैरेनी गाउँपालिकाका उपप्रमुख पुष्पादेवी श्रेष्ठ, प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, वडा नं १ का वडाध्यक्ष किसन थापा लगायतले आधी मूलसहित गाउँपालिकाका पर्यटकीयस्थलले धेरै सम्भावना बोकेको बताउँदै त्यसको उजागरका लागि सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्