बजेट अभावले नाग्म–गमगढी सडक स्तरउन्नतीको काम प्रभावित

जुम्ला । बजेट अभावले नाग्म गमगडी सडकको स्तरउन्नतीको काम प्रभावित भएको छ ।
सडक ग्राभेल, ढल निकासा, ग्यामिन पर्खाललगायतका काम भइरहेको उक्त सडकमा बजेट अभाव भएपछि बीचमै स्तरउन्नतीको काम प्रभावित भएको हो ।
सङ्घीय सरकारले नाग्म–गमगडी सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा ९ करोड ७० लाख बजेट विनियोजन गरेको थियो ।
उक्त बजेट गएको असोजमै सकिएपछि निर्माण रोकिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला बहादुर भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“बजेट सकिएपछि सङ्घीय सरकारले दोस्रो चरणमा ५ करोड बजेट छुट्टाएको थियो । तर त्यो बजेट पनि पर्याप्त भएन । बजेट अभावले सडकको लागत अनुमान अनुसार काम गर्न सकिएको छैन ।”
कार्यालय प्रमुख भण्डारीले असोजमै बजेट सकिएपछि नाग्म–गमगडी सडकको ग्राभेल र ढल निकासको काम अधुरै रहेको बताउनुभयो ।
अझै ठेकेदारलाई १२ करोड भुक्तानी दिन बाँकी रहेको र कतैबाट बजेट नजुटेकोले ठेकेदारलाई कसरी भुक्तानी दिने भन्ने समस्या भएको भण्डारीको भनाई छ ।

चालु आवमा नाग्म गमगडी सडकको ९३ किमी ग्राभेल गरेर सकाउने लक्ष्य लिएको सडक डिभिजनले बजेट अभावका कारण काम अघि बढाउन सकेको छैन ।
कार्यालय प्रमुख भण्डारीले भन्नुभयो,“नाग्म–गमगडी सडकको बाँकी ग्राभेल, ढल निकास र टेवा पर्खाल निर्माणका लागि २० करोड आवश्यक रहेको छ । बजेट जुटाउन मन्त्रालय धाइरहेको छु । कहिले बजेट जुट्ने र काम अघि बढ्ने टुङ्गो छैन ।”
चालू आवमा गमगढी–नाग्मा सडकको ३४ किलोमिटर सडक ग्राभेलको काम सकिएको छ । बजेट अभावले ५९ किलोमिटर ग्राभेल गर्न बाँकी रहेको कार्यालय प्रमुख भण्डारीले उल्लेख गर्नुभयो ।
चालू आवभित्रै सडक ग्राभेल गर्ने लक्ष्य भए पनि बजेट अभावले लक्ष्य हासिल गर्न नसकिने चिन्तामा सडक डिभिजन छ ।
चालू आवमा सडकको १० ठाउँमा आरसिसी पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्न लागिएको छ । सडक डिभिजन कार्यालयका अनुसार नाग्मा–गमगढी हुँदै तिब्बतको नाक्चेनाङ्ला सम्मको सडकमा पुल निर्माण गर्न लागिएको हो ।
यसका लागि ८० करोड आवश्यक पर्ने डिभिजन प्रमुख भण्डारीले बताउनुभयो । सबै चालु आवमा नाग्म–गमगडी सडकको ग्राभेल गरेर कालोपत्रे गर्न सङ्घीय सरकारसँग ३ अर्ब बजेट समेत माग गरिएको छ ।
नाग्म–गमगढी सडकमा गाडी गुड्न थालेको ९ वर्षपछि सरकारले स्तरोन्नतिको काम सुरु गरेको छ ।
रारा जाने पर्यटकसँगै सिञ्जा, मुगुका नागरिकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएकोमा बीचै स्तरबृद्धि रोकिएपछि नागरिक निराश भएका छन् ।
बजेट व्यवस्थापन गरी नाग्म–गमगडी सडक स्तरबृद्धि गति दिने सडक डिभिजनको तयारी छ ।
।








प्रतिक्रिया राख्नुहोस्