तपाईँ सुन्दै हुनुहुन्छः

चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता–२०७७ शुरु

रुपन्देही ।कोभिड–१९ को महामारीपछि खेलकुदका गतिविधि बढिरहेका बेला चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता–२०७७ शुरु भएको छ । बुटवलमा शुक्रबारदेखि यो प्रतियोगिताको बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभयो ।

प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई सुवेदीले बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गर्दै नगर खेलकुद विकास गठन गरी नगरका सबै खेल गतिविधिलाई ब्यवस्थापनका काम अघि बढाएको बताउनुभयो । नगरमा खेलकूद विकासका लागि विभिन्न स्थानहरुमा राष्ट्रियस्तरका सुविधासम्पन्न रङ्गशालाहरुको निर्माण भइरहेको सुवेदीले बताउनुभयो ।

नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले कोभिड–१९ को संक्रमण कम भैरहेको बेला देशमै पहिलो बुटवलमा खुल्ला प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको हौसला बढाउने काम भएको बताउनुभयो । यस्तै नेपाल ओलम्पिक कमिटिका केन्द्रीय सदस्य दिर्घ बहादुर केसीले खेल विकासमा तीन तहकै सरकारबाट सहयोग जरुरी रहेको बताउनुभयो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले नगरभित्रका खेलकुद पुर्वाधार विकासमा लागेको बताउनुभयो । कार्यक्रममा काठमाण्डौमा सम्पन्न टिम टेनिस नेपाल जुनियर प्रिमियर नेशनल प्रतियोगितामा रुपन्देहीबाट पदक जितेका निश्चल ज्ञवाली, संघर्ष फौदार, ब्रिजेश अर्याल र योगेश ज्ञवाली तथा प्रशिक्षक विकास खड्कालाई रुपन्देही जिल्ला लनटेनिस संघले नगदसहित सम्मान गरेको छ । मन जयन्कर टेनिस एकेडेमीका अध्यक्ष मनोज राणाले रुपन्देही जिल्लालाई एक बकेट बल हस्तान्तरण गरेका छन् । संघका अध्यक्ष संजय श्रेष्ठले खेलाडी र खेलप्रेमीहरुको सहयोगमा प्रतियोगिता निरन्तरता दिन सफल भएको बताउनुभयो।

पहिलो दिनको उद्घाटन खेलमा खुल्लातर्फ पोखराका निरज गुरुङले बुटवलका दिपक अर्याललाई ६–०,६–० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । दोस्रो खेलमा खेलमा पोखराका अंकित अधिकारीले बुटवलका कृष्ण बश्याललाई ६–०,६–० ले पराजित गरेका छन् । चार दिनसम्म चल्ने प्रतियोगितामा सिङ्गलतर्फ १ सय ३ जना खेलाडी र डबल्सतर्फ १ सय ३७ खेलाडीले भाग लिएको संघका सचिव तथा खेल संयोजक गोपाल ज्ञवालीले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button