कोरोना महामारी पछि पर्वतमा पहिलो महोत्सव आयोजना

पर्वत । कोरोना महामारी नियन्त्रण उन्मुख भएपछि पर्वतमा पहिलो महोत्सव आयोजना गरिएको छ । ३९ औँ मगर दिवसको अवसरमा पुन युवा क्लबले पर्वतको कुश्मामा मगर महोत्सव आयोजना गरेको हो । हरेक वर्ष मगर दिवसको अवसरमा मगर महोत्सव आयोजना हुँदै आएको छ ।
गतवर्ष कोरोनाका कारण रोकिएको महोत्सव यो वर्ष कोरोना नियन्त्रणतर्फ उन्मुख भएपछि आयोजना गरिएको पुन युवा क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिनुभयो । भोलिबाट फागुन २५ गतेसम्म महोत्सव चल्नेछ । महोत्सवमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा विशेष जोड दिइएको आयोजकले जनाएको छ ।
व्यापार व्यवसाय प्रवर्द्धन, पर्यटकीय क्षेत्रको प्रचारप्रसार, स्थानीय उत्पादनको बजारीकरण, लोकसंस्कृतिको प्रदर्शन लगायतमा यो महोत्सव सफल हुने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन, दैनिक उपभोग्य सामान र मगर समुदायका कलाकौशल सम्बन्धी सामाग्रीका २२० स्टल रहने जनाइएको छ ।
महोत्सवकै अवसरमा खुल्ला पुरुष भलिबल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मगर समुदायको सोरठी, शालैजो लगायतका नृत्यहरू आकर्षणको रुपमा रहेका छन् । यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने भएको छ ।
आयोजकले स्थानीय खानाका परिकारका स्टलहरू समेत राख्ने भएको छ । पर्वतका धार्मिक तथा पर्यटकीय स्थलहरूको परिचय झल्किने खालका स्टल पनि महोत्सवमा रहने आयोजकले जनाएको छ । थलिएको पर्यटन र व्यापार व्यवसायलाई चलायमान बनाउन महोत्सव सहयोगी हुने पुन युवा क्लब पूर्व अध्यक्ष जीवन पुनले बताउनुभयो । महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्