खुला आकाशमा पढ्दै विद्यार्थी

सल्यान । बनगाड कुपिण्डे नगरपालिका ११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुई कोठे भवनको छाना हावाहुरीले उडाएको एक वर्ष पुग्नै लाग्दा पनि मर्मत हुन सकेको छैन । विद्यालयको छाना मर्मत नहुँदा विद्यार्थीहरू खुला आकाशमा पढ्न बाध्य भएका छन् ।
गत वैशाख २८ गते आएका हावाहुरीले विद्यालयको छाना फालेको थियो । विद्यालय मर्मत गरिदिन नगरपालिकालाई बारम्बार आग्रह गरेपनि बेवास्ता भइरहेको विद्यालयका प्रधानाध्यापक हेमराज ओलीले बताउनुभयो । भवनको अभाव हुँदा विद्यार्थीलाई खुला चौर र छाना उडाएको भवनमै राखेर पढाउँदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘अव गर्मी समय सुरु भयो दिनभर खुला चौर र छाना नभएको भवनमा राखेर पढाउन सकिँदैन । विद्यालय नजिकैबाट सडक भएकाले सडकको धुलो सबै विद्यालयमै आउँछ ।’
विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएको र स्थानीय सरकारलाई फाइल पठाउँदा पनि कुनै सुनुवाइ नभएको विद्यालयका प्रधानाध्यापक ओलीले बताउनुभयो । निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसकेर विद्यालय अब कक्षा ८ बाट पाँचमा झार्ने योजना बनाएको बताउँदै उहाँले भन्नुभयो ‘शिक्षकलाई तलब भत्ता खुवाउन नसकी रहेको अवस्थामा कुन आर्थिक स्रोतले विद्यालयको छाना मर्मत गर्नु ?’

हावाहुरीले छाना उडाउने बित्तिकै नगर सरकारलाई जानकारी गराउँदा नगर उप प्रमुख मञ्जु यरी। इन्जिनियर महेश देवकोटासहितको टोलीले अनुगमन गरी ८ लाख जतिको अनुमानित बजेटको मूल्याङ्कन गरे पनि कुनै ठाउँबाट बजेटको व्यवस्थापन नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर बुढामगरले गुनासो गर्नुभयो ।
विद्यालय जस्तो संवेदनशील क्षेत्र एक वर्षदेखि अलपत्र पर्नु निकै दुखको कुरा भएको बुढाले बताउनुभयो । बनगाड कुपिण्डे नगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र रावतले विद्यालय भवन मर्मतका लागि बजेट इस्टमेट गरी विनियोजनको तयारी भइरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्