इटहरीको विकासले गति लिँदै छ : उपमहानगर प्रमुख चौधरी

सुनसरी । इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले इटहरीमा गत वर्ष भन्दा बढी भौतिक निर्माण हुने बताउनुभएको छ । सुनसरीको इटहरी वडा नम्बर ३ को वडा कार्यालय भवन शिलान्यास गर्नुहुँदै चौधरीले यो बर्ष ८५ करोडका योजना टेण्डर गरिसकिएको, ४० भन्दा बढी बहुवर्षे योजना समेत टेण्डर प्रक्रियामा रहेकोले गतबर्ष भन्दा बढी भौतिक विकास हुने दाबी गर्नुभयो । चौधरीका अनुसार गत वर्ष सुरु भएको ५ वटा बहुवर्षे सडक निर्माण भइसकेका छन् ।
चौधरीले कोरोना महामारी र प्रतिकुल राजनीतिक अवस्थाका बाबजुद पनि इटहरीमा विकासले गति लिएको भन्दै नेकपामा देखिएको विग्रहले इटहरीको विकासमा कुनै प्रभाव नपार्ने दोहोर्याउनुभयो ।
उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा हुने विकास निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने भन्दै निर्माण कार्य भइरहँदा जनस्तरबाट पनि खबरदारी हुनु पर्नेमा जोड दिनुभयो । वडाध्यक्ष बालकृष्ण विष्टले वडा नम्बर ३ मा भौतिक निर्माणको कार्यले गति लिँदै गएको बताउनुभयो ।

इटहरी वडा नम्बर तीनको वडा कार्यालय भवन निर्माणका लागि स्थानीय बल बहादुर भट्टराईको परिवारले करिब एक करोड मूल्य पर्ने डेढ कठ्ठा जग्गा प्रदान गर्नुभएको छ । सोही जग्गामा इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले वडा कार्यालय भवनको शिलान्यास गर्नुभएको हो ।
कार्यक्रममा भट्टराई परिवारका सदस्यहरूलाई प्रमुख चौधरीले दोसल्ला र माला लगाएर सम्मान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्