पर्वतको बिहादी औधोगिकग्राममा पूर्वाधार विस्तार

पर्वत । पर्वतको बिहादी गाउँपालिकामा औधोगिक ग्रामको पहिलो चरणको काम सम्पन्न भएको छ । सरकारले एक स्थानीय तह एक औधोगिक ग्राम कार्यक्रम अन्तर्गत बिहादीमा औधोगिक ग्राम निर्माणको काम अगाडी बढेको हो ।
संघ र प्रदेश सरकारको सहलगानीमा गतवर्ष देखि औधोगिक ग्राम स्थापनाको काम शुरु भएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्व दयालका अनुसार संघीय सरकार बाट प्राप्त भएको बजेट बाट अहिले सम्म करिव ५८ लाख रुपैयाँ खर्चिएर विभिन्न संरचना निर्माण भएका छन् ।
पूर्वाधार निर्माण अन्तर्गत जग्गा सम्माउने, तारबार लगाउने, विद्युत जडान, सडक निर्माण, पानीको व्यवस्थापन, सुरक्षा पर्खाल निर्माण, ढल निकाश लगायतका काम सम्पन्न भएको दयालले जानकारी दिनुभयो । औधोगिक ग्राममा संघ सरकारबाट बाट रकम प्राप्त भएर पूर्वाधार निर्माणको काम भएको र प्रदेश सरकार बाट हालै ३० लाख रुपैयाँ प्राप्त भएको दयालले बताउनुभयो ।
प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट थप काम गर्न बोलपत्र आव्हान गर्ने तयारी रहेको छ । औधोगिक ग्राममा स्थानीय स्तरका घरेलु तथा साना उद्योगहरु स्थापना गर्ने लक्ष्य रहेको छ । फर्निचर उद्योग, कुटानी पिसानी मिल निर्माण, सलाईका काँटी बनाउने, अगरवत्ती उद्योग तथा स्थानीय कच्चा पदार्थ मार्फत बन्ने बस्तु उत्पादन हुने उद्योग स्थापना गर्ने तयारी रहेको छ ।
प्रदेश सरकार बाट प्राप्त बजेटले एक्जिबेशन हल निर्माण गर्ने र त्यसैमा साना तथा घरेलु उद्योग निर्माण हुने गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिनुभयो । औधोगिक ग्रामलाई वृहत्तर रुपमा सञ्चालन गर्न गाउँपालिकाले अर्थ मन्त्रालयमा बजेटको माग गरेको पनि भुसालले बताउनुभयो ।
मन्त्रालयमा २८ करोडको डिपिआर तयार पारेर पेश गरिएको उहाँले बताउनुभयो । सरकारलाई वहुवर्षे पूर्वाधार विकासको रुपमा बिहादीको औधोगिक ग्राम लाई समाबेश गर्न प्रस्ताव गरिएको भुसालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्