प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत ४६ उद्यमीलाई उपकरण वितरण
मकवानपुर । मकवानपुरमा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत बुधवार ४६ घरेलु तथा साना उद्यमीलाई उपकरण वितरण गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले आज एक कार्यक्रमको आयोजना गरेर प्रदेश सरकारको लघु घरेलु तथा साना उद्योग हस्तान्तरण कार्यक्रम अन्तर्गत उपकरण हस्तान्तरण गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले घरेलु तथा साना उद्यमीलाई उपकरण हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा प्रमुख खुलालले लघु तथा साना उद्योगलाई प्रोत्साहन गर्न र समय सापेक्ष व्यवसायलाई आधुनिकीकरण गर्ने उद्देश्यले कार्यक्रम ल्याएको बताउनुभयो ।
सरकारले नागरिकलाई स्वावलम्बी बनाउन तालिमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको उहाँको भनाई थियो । उहाँले प्राप्त तालिम र प्रविधिलाई भरपुर प्रयोग गर्न समेत आग्रह गर्नुभयो । परम्परागत कृषि प्रणालीलाई निरुत्साहित गर्ने उद्देश्यले राज्यले यस्ता कार्यक्रम ल्याएको भन्दै उहाँले जुन उद्देश्यका साथ कार्यक्रम ल्याइएको हो, त्यसै अनुसार प्रयोग गर्न समेत आग्रह गर्नुभयो ।
लघु, घरेलु तथा साना उद्यमी प्रविधि हस्तान्तरण कार्यविधि ०७३ अनुसार प्रस्ताव मूल्याङ्कन समितिले सिफारिस गरेका ४६ उद्यमीलाई उपकरण वितरण गरिएको कार्यालयले जनाएको छ ।
उद्यमीलाई २० लाख रुपैयाँ बराबरका उपकरण हस्तान्तरण गरिएको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख जगन्नाथ दाहालले जानकारी दिनुभयो । उद्यमीहरूलाई उनीहरूले घरेलु कार्यालयमा दर्ता गराएका उद्योगको सञ्चालन अवस्थालाई आधार मानेर घरेलु तथा साना उद्योग सङ्घ मकवानपुरको सिफारिसमा विभिन्न ८ प्रकारका मेसिन तथा उपकारण हस्तान्तरण गरिएको थियो ।
वितरण गरिएका उपकरणमा उद्यमीको २० प्रतिशत अर्थात् ४ लाख र प्रदेश सरकारको ८० प्रतिशत अर्थात् १६ लाख रुपैयाँ लगानी छ ।
उद्यमीलाई विभिन्न प्रकारका सिलाइ मेसिन २८ वटा, चाँप कटर ८ वटा, केमिकल मिक्सिङ्ग मेसिन २ वटा, थोपा सिँचाई २ वटा, हाते ट्याक्टर एउटा, ड्रिंकर मेसिन ३ वटा र मिल्क एनालाईजर २ वटा उपकरण वितरण गरिएको थियो ।
तालिम लिएका नागरिकले सीपअनुसार व्यवसायमा लगानी गरेमा ८० प्रतिशत अनुदानमा सम्बन्धित व्यवसायका लागि आवश्यक पर्ने मेसिन, औजार दिने गरिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्