पार्किङ र गोदाममा नयाँ मेशिन जडान गरेपछि स्थानीय आन्दोलित
बारा । बाराको जगदम्बा स्टिल प्रा.लिले सवारी साधन पार्किङ र गोदाम घरका लागि भनी बनाएको संरचनामा नयाँ मेशिन जडान गरेर सञ्चालन गरेको भन्दै बाराको जीतपुर सिमराका स्थानीयहरूले विरोध गरेका छन् ।
बारा–पर्सा औद्योगिक करिडोरको सबैभन्दा ठुलो जगदम्बा उद्योगले स्थानीय तहको सहमति बेगर पटक पटक प्लान्ट बिस्तार गर्दै आएको स्थानीयले बताएका छन् । जीतपुर सिमराका २ वडाध्यक्ष तिलक श्रेष्ठले पनि पार्किङ र गोदाम घर भनी सहमति लिएर उद्योग प्रशासनले आफूखुसी मेशिन जडान गरेर सञ्चालन गरेको भन्दै आपत्ति जनाउनुभयो ।
जगदम्बा स्टिलले पार्किङ र गोदाम घरका लागि बनाएको संरचनामा रड काट्ने, बाङ्गाटिङ्गा रड सोझाउन ठुलो मेशिन जडान गरेर सञ्चालन गरेपछि घरहरू चर्किएको र रातभर बालबालिकाहरू तर्सने, सुत्न नसक्ने र झस्कने गरेको भन्दै स्थानीयहरूले विरोध जनाएका हुन् ।
जगदम्बा स्टिलका जनसम्पर्क प्रमुख कुमुद ढकालले भने सानो फलाम काट्ने मेशिन भएकोले आवाज सामान्य मात्रै आएको दाबी गर्नुभयो ।
स्थानीयहरूको घर चर्कने र धुलो धुवाँका कारण स्वास्थ्य समस्या देखिएको भन्दै उद्योग प्रशासन र स्थानीयबिच पटक पटक विवाद हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्