सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्रको सहकार्यमा सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीसँग बुधवार मन्त्रालयमा भेटी सरकार र निजी क्षेत्रको सहकार्यमा सीपमूलक तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएको हो ।
भेटका अवसरमा महासङ्घको प्रतितिनिधमण्डलले सीपमूलक भनेर थुप्रै संस्थाहरूले तालिम दिने र ठुलो रकम खर्च हुने गरे पनि निजी क्षेत्रको माग अनुसार दक्ष एवं सीपयुक्त जनशक्ति पाउन कठिनाइ भइरहेको भन्दै निजी क्षेत्रको माग अनुसार दक्ष एवं सीपयुक्त जनशक्तिको लागि तालिम आवश्यक भएकोमा जोड दिनुभएको थियो ।
भेटका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीले निजी क्षेत्रको सुझाव अनुसार सीपमूलक तालिम सञ्चालन गर्ने सरकारको योजना रहेकोले महासङ्घबाट प्राप्त सुझाव एवं प्रस्तावलाई ध्यानमा राखी सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
भेटमा महासङ्घको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालले एकातिर मुलुकभित्र सञ्चालित उद्योग धन्दाका लागि चाहिएको जनशक्ति नपाउँदा ठुलो समस्या भएको र अर्कोतिर विना कुनै सीप कामका लागि बिदेसिने युवाहरू न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्याको अन्त्य गर्न पनि सीपयुक्त जनशक्ति विकासका लागि तत्काल तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्