तपाईँ सुन्दै हुनुहुन्छः

केटु (K2) हिमालको सफल आरोहीलाई नेपाली सेनाद्वारा सम्मान

काठमाडौँ । नेपाली सेनाले पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल केटुु (K2) को हिउँदे याममा पहिलो पटक सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल नेपाली आरोहण दलका सदस्यहरूलाई सम्मान गरेको छ ।
नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले ८ हजार मिटरभन्दा अग्ला १४ हिमालहरू मध्ये जाडो मौसममा आरोहण नगरिएको ८,६११ मिटर अग्लो केटु (K2) हिमालका १० जना आरोहीलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा प्रधान सेनापति थापाले सामूहिक भावना तथा दृढ विश्वास एवं लगनशीलताले कठिन आरोहण सफलताका साथ सम्पन्न गरेको बधाई दिनुभयो ।
प्रधान सेनापति थापाले आरोहण टोलीको अनुभव नेपाली सेनाका लागि मात्र नभई सम्पूर्ण नेपालीका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो ।
आरोहण दलका टोली नेता निर्मल पुर्जा मगरले आरोहणको दौरान मृत्युलाई चुनौती दिँदै केटु  (K2) को शिखरबाट नेपाल र नेपालीको नाम विश्वभर फैलाउन आफूहरू सफल भएको  अनुभव सुनाउनु भयो ।
बेलायती सेनाको Special Force बाट सेवा निवृत्त पुर्जा मगरले सामूहिक भावनाका साथ आफ्नो देश एवं शेर्पा समुदायको नाम राख्ने उद्देश्यले आरोहणको इतिहासमै खतरनाक मानिएको हिमाल आरोहण गर्न सफल भएको बताउनु भयो ।
प्रधानसेनापति थापाले केटु हिमाल आरोहण दलका नेता निर्मल पुर्जा पुन मगर, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पालाई सम्मान गर्नुभएको थियो ।
गत माघ ३ गते १० सदस्य नेपाली आरोही दलले केटु (K2) को सफल आरोहण गरेको थियो ।
आगामी चैत ३१ देखि जेठ २२ गतेसम्म विश्वको अग्लो हिमाल सगरमाथालगायत ६ हिमालको झण्डै ३५ टन फोहर सङ्कलन गरिने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button