तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीले राजीनामा दिनु हुन्न : मन्त्री श्रेष्ठ

भक्तपुर  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताउनुभएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीइभीटीको ३३ औँ वार्षिक उत्सव समारोहलाई आज सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा राजीनामा दिन नहुने बताउनुभयो ।
संसद् सुचारु भएपछि प्रक्रियामा जाने र सोही आधारमा प्रधानमन्त्रीले फेस गर्ने उहाँको भनाइ छ ।
उहाँले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्नेहरूलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिनुभयो ।
अदालतले गरेको निर्णयलाई सरकारले सम्मान गर्ने तर यो निर्णयले झन् विवाद बढाएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
मन्त्री श्रेष्ठले सबैभन्दा ठुलो अदालत जनता भएकाले जनताले नै अहिलेको सङ्कटकालीन अवस्थाको मुल्याङकन गर्ने बताउनुभयो । अदालतको फैसलाले राजनीतिक मैदान खुला भएको र आफूहरू मैदानमा उत्रिएको उहाँको भनाइ छ ।
उहाँले मुलुक राजनीतिक सङ्कटतर्फ धकेलिएको सङ्केत गर्नुहुँदै यसलाई रोक्ने काम प्रधानमन्त्री ओलीले नेतृत्व गर्नुभएको सरकारको भएको बताउनुभयो ।
यो अवस्थामा प्रधानमन्त्री ओलीले जनतालाई साक्षी राखेर समस्या समाधान गर्नुहुन्छ  भन्नुहुँदै उहाँले अब पनि आगामी निर्वाचनसम्म प्रधानमन्त्री ओलीको विकल्प नभएको स्पष्ट पार्नुभयो ।
सिटिइभीटीले गरेका कामको प्रशंसा गर्नुहुँदै संस्थाको अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा, सिटिइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, शिक्षा सचिव रामप्रसाद थपलिया, सदस्य सचिव पुष्प रमण वाग्ले लगायतले प्राविधिक शिक्षाको महत्त्वबारे चर्चा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button