तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क आँखा शिविर सञ्चालन

तनहुँ । तनहुँको व्यास नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत नगरपालिकाले ६० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई सहज रुपमा आँखाको उपचार सेवा प्रदान गर्न उक्त शिविर सञ्चालन गरेको हो ।
हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले फागुन १२ देखि १४ गतेसम्म नगरपालिकाका १४ वटै वडाका ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्ने गरी उक्त शिविर सञ्चालन गरेको छ ।
शिविरको शुभारम्भ गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेले ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले रचनात्मक काम गर्ने प्रयास गरेको हुँदा यसको लाभ लिन आग्रह गर्नुभयो ।
त्यस्तै, नगर उपप्रमुख मीरा जोशीले नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानमा उनीहरूले नै लाभ पाउने गरी शिविर आयोजना गरिएको जानकारी गराउनुभयो ।
व्यास–२ स्थित बाल मन्दिर माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको शिविरमा नगरपालिकाका सबै वडाका ज्येष्ठ नागरिकहरूलाई उपचार सेवा लिन सहज हुने गरी व्यवस्थापन गरिएको नगरपालिकाका शिक्षा तथा सामाजिक शाखा प्रमुख नगेन्द्र रेग्मीले बताउनुभयो ।
शिविरको पहिलो दिन १ सय ६२ जना ज्येष्ठ नागरिकको परीक्षण गरिएको थियो । यी मध्ये १३ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button