तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका स्थानीय तहको प्राथमिकतामा आफ्नै भवन

तनहुँ । आफ्नै भवन नहुँदा सेवा प्रवाहमा असहज भएपछि तनहुँका स्थानीय तहले भवन निर्माणलाई प्राथमिकता दिएका छन् ।
भाडामा वार्षिक रूपमा लाखौँ रकम खर्च हुने र सेवा प्रवाहमा समेत असहज भएपछि जिल्लाका स्थानीय तहले प्रमुख प्रशासनिक र वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिएका हुन् ।
जिल्लाका देवघाट, आँबुखैरेनी, म्याग्दे, घिरिङ, ऋषिङ गाउँपालिकाले प्रमुख प्रशासकीय भवन निर्माण गरिरहेका छन् ।
व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, भिमाद नगरपालिका, भानु नगरपालिकाले भने आफ्नै भवनबाट सेवा दिइरहेका छन् ।
भिमाद नगरपालिकाले आफ्ना भवनका अतिरिक्त भाडामा लिएको घरबाट र भानु नगरपालिकाले आफ्नै भवनको अतिरिक्त डुम्रे भन्सार सहरी आयोजनाको भवनबाट कार्यालय सञ्चालन गरिरहेको छ ।
देवघाट गाउँपालिकाले वडा नं ५ क्युदीमा प्रशासनिक भवन निर्माण गरिरहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाका अनुसार सङ्घ र प्रदेश सरकारबाट बजेट प्राप्त भएपछि गाउँपालिकाले प्रशासकीय भवन निर्माणको काम सुरु गरेको छ ।
भाडाको घरमा सञ्चालन हुँदै आएकामा भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाह सहज हुने उहाँले बताउनुभयो ।
भाडामा सञ्चालन हुँदै आएको तनहुँको म्याग्दे गाउँपालिकाले पनि आफ्नै भवन निर्माण सुरु गरेको छ ।
जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै भाडामा सञ्चालन हुँदै आएको गाउँपालिकाले म्याग्दे गाउँपालिका–४ मा भवन निर्माण सुरु गरेको छ ।
दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको भवन रु १० करोड ३५ लाख ६९ हजार ८ सय ८४ को लागतमा निर्माण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा रु ६ करोड ८५ लाख ५० हजार २५ र आगामी आर्थिक वर्षमा रु तीन करोड ५० लाख १९ हजार आठ सय ५८ को काम हुनेछ ।
दुई भवन निर्माणका लागि स्वीकृत लागत रकममध्ये यो वर्ष गाउँ सभाको निर्णय बमोजिम रु ३ करोड, जिल्ला समन्वय समिति कोषमार्फत प्राप्त हुने रकम, आन्तरिक स्रोत र आगामी आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारमार्फत प्राप्त हुनेछ ।
तनहुँको घिरिङ गाउँपालिका भवनविहीन अवस्थामा छ । गाउँपालिकाका पाँच वटै वडा कार्यालयको आफ्नै भवन छैन । आफ्नै भवन नहुँदा गाउँपालिकालाई सेवा प्रवाहमा समस्या भइरहेको छ ।
घिरिङ गाउँपालिकाको प्रशासनिक भवन पनि भाडाको घरमा सञ्चालनमा छ ।
भाडाको घरमा कार्यालय सञ्चालन गर्नुपर्दा सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न कठिनाइ भइरहेको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताउनुभयो ।
गाउँपालिकाले निर्माण सुरु गरेको वडा नं २, ३ र ५ को भवन निर्माण सम्पन्न हुने चरणमा छ ।
आँबुखैरेनी गाउँपालिकाले प्रमुख प्रशासकीय भवन र वडा कार्यालयका भवन निर्माण कार्यलाई प्राथमिकता दिएको छ ।
आफ्नै भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ गाउँपालिकाले प्रमुख प्रशासकीय भवन र वडा कार्यालयका भवन निर्माणलाई प्राथमिकता दिएको हो । सोही बमोजिम निर्माण सुरु भएको प्रमुख प्रशासकीय भवनको काम ८० प्रतिशत सम्पन्न भएको छ ।
गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको काम फागुन मसान्तभित्र सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
ऋषिङ गाउँपालिका वडा नं ७ को पोखरी भन्ज्याङमा प्रमुख प्रशासकीय भवन निर्माण भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button