तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लाफाँटा निकुञ्जमा पहिलो पटक देखियो हिमाली घोरल 

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्तनधारी वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको छ । कञ्चनपुरको चुरे क्षेत्रदेखि तराईको मैदानी फाँटसम्म फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यसअघि ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइने गरेकोमा पहिलो पटक हिमाली घोरल फेला परेपछि स्तनधारी वन्यजन्तुको सङ्ख्या वृद्धिभई ५७ पुगेको सहायक संरक्षण अधिकृत कान्ती कँडेलले बताउनु भएको छ ।

निकुञ्जको चुरे क्षेत्रमा केही सङ्ख्यामा घोरल देखिएका उहाँले बताउनु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चुरे क्षेत्र घोरलको बसोबासका लागि उपयुक्त स्थान रहेको जनाइएको छ । हिमाली घोरल दुर्लभ वन्यजन्तु नरहे पनि शुक्लाफाँटामा देखिनु भनेको स्तनधारी प्रजाति थपको हिसाबले महत्त्वपूर्ण रहेको सहायक संरक्षण अधिकृत कँडेलले बताउनभयो  ।

हिमाली घोरल शुक्लाफाँटाको कृष्णसार संरक्षित क्षेत्र हीरापुर मैदानदेखि उत्तर चुरे क्षेत्रमा देखिएका हुन् । यो निकुञ्जमा बाह्रसिङ्गे, बाघ, एकसिङ्गे गैँडा, हात्ती, कृष्णसार, चितुवा, सालक जस्ता स्तनधारी वन्यजन्तु रहेका छन् । यसैबीच, निकुञ्जमा केही दिनभित्रै गैँडा गणनाको कार्य सुरु हुन लागेको सहायक संरक्षण अधिकृत कँडेलले जानकारी दिनुभयो  । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यसअघि १७ गैँडा रहेको तथ्याङ्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button