राष्ट्रिय बिमा संस्थान ५४ औँ वर्षमा प्रवेश

काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान स्थापनाको ५४ औँ वर्षमा प्रवेश गरेको छ । संस्थान ५४ औँ वर्ष प्रवेश गरेको अवसरमा मङ्गलवार राजधानीमा वार्षिकोत्सव मनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रतिस्पर्धी बिमा बजारमा अगाडि बढ्न आग्रह गर्नुभयो । मुलुकको बिमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै समयानुकूल सेवा प्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै ‘संस्थानले पारदर्शिता र सुशासनको माध्यमद्वारा सर्वसाधारणको संस्थानप्रतिको विश्वसनीयता बढाउँदै छिटो छरितो, गुणस्तरीय र प्रविधिमैत्री सेवामार्फत आफ्नो प्रतिष्ठा बढाउन आग्रह समेत गर्नुभयो ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले प्रतिस्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्न संस्थानलाई आग्रह गर्नुभयो ।
व्यावसायिक क्षेत्रमा हुने जोखिम न्यूनीकरण गर्दै सुरक्षित व्यवसाय सुनिश्चित गर्न बिमा क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भन्दै उहाँले आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी मुलुकले परिलक्षित गरेको समावेशी आर्थिक विकास मार्फत आर्थिक समृद्धि हासिल गर्न बिमा व्यवसाय ठोस आधार स्तम्भ हुने बताउनुभयो ।
अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले विगतका तुलनामा बिमाको पहुँच वृद्धि भएको भए पनि अझै विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मुलुकको जेठो बिमा कम्पनीको रुपमा रहेको संस्थानको बजार हिस्सा पनि जेठो नै हुनुपर्नेमा उहाँको जोड थियो ।

संस्थानका प्रशासक कवि प्रसाद पाठकले चालु आ.व. को पौष मसान्तसम्ममा नेपालमा सञ्चालित जीवन बिमा सेवा प्रदायकहरूले सङ्कलित बिमा शुल्क ६६ अर्ब १६ करोड मध्ये संस्थानले पाँच अर्ब ६८ करोड सङ्कलन गरी बिमा शुल्क सङ्कलनमा संस्थानको बजार हिस्सा ८.५९ प्रतिशत रहेको जानकारी दिनुभयो ।
संस्थानको नयाँ प्रडक्ट आवधिक जीवन बिमा (टर्म लाइफ इन्स्योरेन्स) सार्वजनिक गरिएको सो कार्यक्रममा संस्थानमा उत्कृष्ट काम गर्ने अभिकर्ता, कर्मचारी र शाखाहरूलाई पुरस्कृत गरिएको थियो ।









प्रतिक्रिया राख्नुहोस्