तपाईँ सुन्दै हुनुहुन्छः

क्याम्पसमा सहिद स्मारक र हरियाली पार्क शिलान्यास

तनहुँ । तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसस्थित सहिद चन्द्र नेपाली छात्रवासको प्राङ्गणमा सहिद स्मारक र हरियाली पार्कको सोमवार शिलान्यास गरिएको छ ।
गण्डकी प्रदेश सरकारको ५ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त स्मारक सहितको पार्कको प्रदेश सभा सदस्य डोवाटे वि.क.ले शिलान्यास गर्नुभएको हो ।
२००७ माघ २ गते जनक्रान्तिमा लाग्दा तत्कालीन राणा शासकहरूबाट बन्दिपुर स्थित कैदखानाबाट निकालेर राती गोली हानि क्रूरतापूर्वक मारिएका तनहुँ सुरवासी सहिद चन्द्रबहादुर नेपाली (सार्की) को अर्ध कदको शालिक उक्त स्मारकमा राखिने भएको छ ।
क्याम्पसको उक्त छात्रवासमा हाल ३० जना विद्यार्थीहरु बसोबास गर्दै आइरहेका छन् । उनीहरूले प्रतिमहिना १ हजार शुल्क छात्रावासलाई बुझाउने गर्दछन् । खाना खाजाको खर्च भने उनीहरू आफैले बेहोर्ने क्याम्पसले जनाएको छ ।
असहायको हकमा छात्रावास आवास र खाना खाजा खर्च र पढाइ शुल्क छात्रावास कोष र क्याम्पस कोषले बेहोर्दै आएको सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले जानकारी दिनुभयो ।
निर्माण प्रारम्भ भएको १९ वर्षपछि ०७५ साल मङ्सिरदेखि छात्रावास सञ्चालनमा ल्याइएको र प्रदेश सांसद वि.क.ले उक्त छात्रावास निर्माणमा करिब ६५ लाख खर्च भएको बताउनुभयो ।
क्याम्पसमा अध्ययनरत करिब २ हजार ४ सय विद्यार्थीहरू मध्य गोरखा, लमजुङ लगायत बाहिरी जिल्ला र तनहुँका दुर्गम स्थानबाट क्याम्पसमा अध्ययन गर्न आउने विपन्न वर्गको करिब ५ सय विद्यार्थीहरूको छात्रावासको माग रहेको क्याम्पसले जनाएको छ ।
छात्रावास व्यवस्थापन समितिका अध्यक्ष केश बहादुर सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्ले, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने, व्यास नगरका प्रथम नगर प्रमुख तारा प्रसाद श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमल्सेना लगायतले सहिदका योगदान, छात्रावासको आवश्यकता र निर्माण चरणका विषयमा आ(आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button