जुम्लामा प्रभु बैङ्कको २१३ औँ शाखा विस्तार

जुम्ला । जुम्लामा प्रभु बैङ्कको २१३ औँ शाखा उद्घाटन गरिएको छ ।
आइतबार चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले प्रभु बैङ्कको २१३ औँ शाखाको उद्घाटन गर्नु भएको हो । जुम्लामा सङ्घीयतापछि बैङ्क तथा वित्तीय क्षेत्रहरूको स्थापना उल्लेखनीय रुपमा भइरहेको छ ।
कर्णाली प्रदेश राजधानीपछिको दोस्रो ठुलो शहरका रुपमा रहेको जुम्लामा आर्थिक गतिविधि बढ्दै गएपछि अधिकांश बैङ्कहरूको रुचिको क्षेत्रमा समेत जुम्ला परेको मेयर कान्तिका सेजुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कुनै बेला बैङ्किङ प्रणाली झन्झटिलो मान्ने दुर्गमका नागरिक अहिले सामान्य कारोबार पनि बैङ्कबाटै गर्छन् ।” जुम्ला जस्तो दुर्गम क्षेत्रमा बैङ्किङ पहुँच ह्वात्तै बढ्नाले यहाँको आर्थिक समृद्धि हेर्न धेरै समय कुर्नु नपर्ने उहाँले बताउनुभयो ।
उहाँले बैंक तथा वित्तीय क्षेत्रबाट सरकारले तोकेअनुसार १०५ प्रतिशत कृषि र व्यापारिक कर्जा पाउनु पर्नेमा नपाएको व्यवसायीको गुनासो छ । बैङ्क बढ्ने तर सेवा नबढ्ने प्रवृत्तिको अन्त्य गर्न समेत सुझाव दिनुभयो ।
साथै मेयर सेजुवालले सामाजिक उत्तर दायित्वका क्षेत्रमा बैङ्कहरूले अनिवार्य खर्च गर्नुपर्ने व्यवस्था भए पनि अधिकांश बैङ्कले कतै पनि खर्च नगरेको पाइएकोले गर्दा सामाजिक हितका क्षेत्रमा काम गर्न आग्रह गर्नुभयो ।

व्यवसायी उत्साहित
जुम्लामा बढ्दै गएको बैङ्किङ पहुँचले व्यापारीहरू खुसी भएका छन् । विगतमा थोरै बैङ्कहरूबाट भनेजस्तो ऋण नपाउँदा व्यापारमा समस्या भोगिरहेका व्यापारीहरू सङ्घीयतापछि जुम्लामा बढ्दै गएको बैङ्किङ पहुँच हेर्दा खुसी भएका छन् ।
उद्योग वाणिज्य सङ्घ जुम्लाका वरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटाले पछिल्लो समय जुम्लामा निजी बैङ्कहरूको उल्लेखनीय वृद्धि भएपछि व्यापारी उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक मात्र सरकारी बैङ्कले व्यापारीहरूको माग अनुसार ऋण दिन सकेको छैन । त्यसैले निजी बैङ्कको बिस्तारसँगै सहज र सरल रुपमा माग अनुसार ऋण पाउने आशामा व्यापारी छन् ।” सरकारी भन्दा निजी बैंकले सहज र सरल रुपमा ऋण दिन समेत उनको आग्रह छ ।
प्रभु बैङ्कका कर्णाली प्रदेश प्रमुख शरदराज तिमिल्सिनाले जुम्लाको आर्थिक समृद्धि र व्यवसायीक उत्थानका लागि बैङ्कले काम गर्ने उल्लेख गर्नुभयो । जुम्लामै पहिलो बैङ्कका रुपमा १ सय लकर सहितको प्रभु बैङ्कले आफ्नो सेवा सञ्चालन गरेको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्