तपाईँ सुन्दै हुनुहुन्छः

कृषकलाई सम्मान गर्ने संस्कारको विकास भएको छ: मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्मा अर्यालले कृषकलाई सम्मान गर्ने संस्कारको विकास भएको बताउनुभएको छ ।
गल्याङको सार्वजनिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन शुभारम्भ गर्नुहुँदै मन्त्री अर्यालले हिजोको संस्कारलाई परिवर्तन गर्दै अहिले कृषकलाई सम्मान गर्ने संस्कृतिको विकास भएको बताउनुभएको हो ।
मन्त्री अर्यालले भन्नुभयो, “कृषि गर्नेलाई होच्याउने होइन सलाम गर्नुपर्छ । हिजोको सामन्तवादी सोचलाई परिवर्तन गर्नुपर्छ ।”
उहाँले कृषिकै माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने भन्नुहुँदै कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरणका लागि सरकार विशेष कार्यक्रमका साथ अगाडि बढेको बताउनुभयो ।
काम नगर्नेलाई ज्यू हजुर गर्ने, काम गर्नेलाई हेला गर्ने होच्याउने संस्कार सामन्तवादी संस्कार भएको भन्नुहुँदै हिजोको यो संस्कार परिवर्तन भएको उहाँले बताउनुभएको हो ।
कृषकलाई व्यावसायिकीकरण आकर्षित गर्न राज्यले विभिन्न कार्यक्रमहरू ल्याउने भन्नुहुँदै उहाँले भन्नुभयो, “कृषि मन्त्रालयले कृषि तथा पशुको विकासका लागि विभिन्न अनुदान र सहुलियतका कार्यक्रमहरू ल्याएको छ । कृषकको खेतबारीमै सरकार जोडिनेछ ।”
माटो र हावापानी सुहाउँदो कृषि प्रणालीलाई अवलम्बन गर्नुपर्ने भन्नुहुँदै उहाँले कृषिमा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्रान्ति गर्ने बताउनुभयो ।
नयाँ सोच र प्रविधिका साथ सरकार अगाडि बढेको भन्दै जिल्लामा कृषिको विकासका लागि प्रतिबद्ध रहेको उहाँको भनाई छ ।
एक पालिका एक उत्पादनका साथ जिल्लालाई कृषिका माध्यमबाट समृद्ध बनाउने उहाँले बताउनुभयो । जिल्लामा सुन्तला र कफीको जोन कार्यान्वयन भइरहेको भन्नुहुँदै अन्य फलफूल तथा तरकारीको जोन बनाउने बताउनुभयो ।
गल्या–१ मा रहेको विद्य्रालयमा २०७५ सालदेखि सिटिइभिटिइ अन्तर्गत ३ वर्षे डिप्लोमा कृषि बाली विज्ञान पढाई भइरहेको छ । सिकाइसँगै कमाई भन्ने मान्यताका साथ विद्यालयले ७५ रोपनी क्षेत्रफलमा माछा पालनसँगै तरकारी खेती गर्ने योजनाका साथ अगाडि बढेको विद्यालयले जनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत मन्त्री अर्यालले १० लाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।
त्यस्तै मन्त्री अर्यालले छात्राहरूका लागि सेनिटरी प्याड बनाउने मेशिन र पिउने पानीका लागि युरो गार्ड समेत हस्तान्तरण गर्नुभएको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button