तपाईँ सुन्दै हुनुहुन्छः

लोकमार्गमा पर्ने विद्युतका पोल हटाईँदै

 पर्वत । मध्यपहाडी लोकमार्ग खण्डमा परेका बिजुलीका पोल स्थानान्तरण गरिने भएको छ । लोकमार्ग बिस्तार भैरहँदा पनि लामो समय सम्म नहटाईएका दायाँबायाँका करिब २५० वटा पोल सार्न थालिएको हो । विजुलीका पोल सडकको बिचभाग र दायाँ बायाँ हुँदा कालोपत्रेको तयारी गरिएपनि पोलकै कारण काम रोकिएको छ ।

कुश्मा बजार र पातीचौरमा धेरै पोल हटाउनुपर्ने छ । पोल हटाएपछि पातीचौर र कुश्मामा चार लेन र अन्य क्षेत्रमा दुई लेनको सडक बिस्तार हुने लोकमार्ग आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीले बताउनुभयो । उहाँले लोकमार्गको पर्वत खण्डमा अधिकाँश ठाउँमा कालोपत्र गर्न ठिक्क पारिएको छ ।

मालढुंगा देखि नयाँपुल सम्म गतवर्ष कालोपत्र गरिएको थियो । मध्यपहाडी लोकमार्गको पर्वत खण्ड २४ किलोमिटर रहेको छ । पोल हटाउन लोकमार्ग आयोजनाले समन्वय नगरेको विद्युत वितरण केन्द्रले गुनासो गर्दै आएको थियो ।

गत ०७४ चैत्रदेखि स्तरोन्नतीको काम शुरु गरेको मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा मुख्य काम सकिनुपर्नेमा कुश्मा र पातीचौरको सडक बिस्तार गर्नुपर्ने भएकै कारण निर्धारित समयभित्रै काम नसकिएको निर्माण व्यवसायीले बताएका छन् । बजारक्षेत्रकै सडकमा खानेपानीको पाइप तथा विद्युतिय पोल व्यवस्थापन समयमै नहुँदा पनि समस्या थपिएको निर्माण व्यवसायी लामा कन्स्ट्रक्सनले जनाएको छ ।

बजारक्षेत्र बाहेक कुश्मा–७ चुवा र मोदी–६ तिलाहारस्थीत बेतेनीको भिर कटान गर्न धेरै समय लागेको र कोरोना पछिको लकडाउनले पनि काममा अवरोध भएको लामा कन्स्ट्रक्सनका आयोजना प्रबन्धक गोबिन्द भुषालले बताउनुभयो । हालसम्म पर्वतखण्डमा पर्ने २५ किलोमिटरको काम ६५ प्रतिशत हाराहारी सकिएको आयोजनाको पर्वत कार्यालयका प्रमुख मरासिनीले बताउनुभयो ।

आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरि काम भइरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । आयोजना कार्यालयले दिएको जानकारी अनुसार आगामी भदौसम्म पोखरा–बागलुङ खण्डको सबै क्षेत्रको सम्झौता अवधि सकिंदैछ ।

प्रदेश राजधानी पोखरा पुग्न हाल कम्तिमा २ घण्टा लाग्ने ५८ किलोमिटरको यात्रा सडक निर्माण सम्पन्न भएपछि एक घण्टामै छोटिने दाबी गरिएको छ । विद्युतको पोल सार्न थालिएकाले पर्वतमा आज दिनभर विद्युत सेवा अवरुद्ध हुने पर्वत वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विद्युत सेवा पनि अवरुद्ध हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button