तपाईँ सुन्दै हुनुहुन्छः

सेनाद्वारा सञ्चालित स्वास्थ्य शिविरबाट  ४३८ जना लाभान्वित

जुम्ला । आइतबार गुठिचौर गाउँपालिका–३ मा नेपाली सेनाले सञ्चालन गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट दुर्गम गाउँका करिब ४ सय ३८ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

शिविरबाट १ सय ५१ महिला र २ सय ३५ पुरुष र ५३ जना बालबालिका गरी ४ सय ३८ जना स्थानीय नागरिक स्वास्थ्य शिविरबाट लाभान्वित भएका हुन् ।

नागरिक सैनिक कार्यक्रम अन्तर्गत नागरिक र नेपाली सेनाबिचको सम्बन्ध सुमधुर बनाउने लक्ष्यका साथ गाउँमै पुगेर विशषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नम्बर २४ बाहिनी अडका बाहिनीपति यम सापकोटाले बताउनुभयो । उहाँले  नेपाली सेना पनि नागरिकको सुख दुखको साथी हो भन्ने महसुस गराउन बेला बेला गाउँ गाउँमा सामाजिक हितका कामहरू गर्दै आएको उल्लेख गर्नुभयो ।

साथै नन्दाबक्स गण जुम्लाका गणपति दिवाकर रायमाझीले चालु आवको पहिलो नागरिक सैनिक कार्यक्रम अन्तर्गत बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“सेनाले देशको शान्ति सुरक्षा सँगै पूर्वाधार विकास पनि गर्छ । साथै नागरिकहरू प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमलाई जोड दिएर गाउँ गाउँमा स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम गर्दै आएका छौ ।”

यता गुठिचौर गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले स्थानीय सरकारले गर्ने काम नेपाली सेनाले गरेको बताउनुभयो । नागरिक र सेना बिचको सम्बन्ध सुमधुर बनाउन यस्ता सामाजिक हितका कार्यक्रम कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

अधिकांश महिलामा पाठेघरको समस्या 

आइतबार गुठिचौरको स्वास्थ्य शिविरमा जाँच गरिएका अधिकांश महिलाहरूमा पाठेघरको समस्या भेटिएको स्त्रीरोग विशेषज्ञ डाक्टर सुबी बस्नेतले बताउनुभयो । उहाँका अनुसार आइतबार स्वास्थ्य जाँच गरेका १ सय ५१ जना महिला मध्ये करिब ९० प्रतिशत महिलामा पाठेघर क्यान्सरको जोखिम, सेतो पानी बग्ने र महिनावारी भएको बेला रक्तस्राव हुने समस्या बढी देखिएको हो ।

३५ देखि ४० र ६० वर्ष मुनिका महिलामा बढी पाठेघरको समस्या देखिएको स्त्रीरोग विशेषज्ञ डाक्टर बस्नेको भनाई छ । उनीहरूलाई आवश्यक औषधी र काम सँगै पर्याप्त पोषिला खानेकुरा खान र आराम गर्न समेत सम्झाइएको छ ।

प्रजनन स्वास्थ्य परिपक्क नभई विवाह गर्नु, बच्चा जन्माउनु, काम धेरै हुनु, चुरोट तमाखुको प्रयोग गर्नु, भारी बोक्नु, आराम नगर्नु लगायतका कारणले दुर्गमका महिलाहरूमा पाठेघर क्यान्सरको जोखिम बढ्ने गरेको डाक्टर बस्नेतको भनाई छ ।

त्यस्तै पुरुष, बालबालिका, युवा युवतीहरूमा ग्यास्टीक, हाडजोर्नी, छाती दुख्ने लगायतका समस्या बढी देखिएको डाक्टर हेमन्त चौधरीले उल्लेख गर्नुभयो । उहाँका अनुसार उमेर नपुग्दै सानैमा विवाह हुनु, आराम भन्दा काम बढी गर्नाले पाठेघरमा समस्या हुने गरेको छ । यसको रोकथामका लागि गाउँ गाउँमा चेतनामूलक कार्यक्रमहरू बढाउनु पर्ने डाक्टर चौधरीको सुझाव छ ।

नेपाली सेनाको नागरिक सैनिक कार्यक्रम अन्तर्गत घरदैलोमै सञ्चालन  गरिएको स्वास्थ्य शिविरले स्थानीयले राहत महसुस गरेका छन् । ७० वर्षीया महिला कालु बुढाले भन्नुभयो, हिँडेर सदरमुकाम जान सक्ने अवस्था थिएन । गाउँमै पुगेर स्वास्थ्य जाँच गरी औषधी दिँदा  सारै खुसी लाग्यो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button