सशस्त्र प्रहरीको गुल्मपति तथा स्टाफ तालिम सम्पन्न

काठमाडौँ । सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सञ्चालित सि.सं. २५ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम आइतबार सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी निरीक्षक निरन थापालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो तालिमका प्रशिक्षकहरूलाई समेत प्रशंसा पत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले व्यावसायिक दक्षता अभिवृद्धिमा विशेष भूमिका खेल्ने यस्ता व्यावसायिक तालिमले अधिकृतहरूको वृत्ति विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान, कला कौशललाई कार्यक्षेत्रमा खटिदा उपयोग गर्दै व्यावसायिक कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुहुँदै कमाण्डर तहका अधिकृतहरूले मातहतलाई सिकाउँदै कर्तव्यनिष्ठ भई सामूहिक भावनाका साथ इमानदारितापूर्वक सांगठानिक जिम्मेवारीका क्षेत्रहरूमा समर्पण भावका साथ उत्कृष्ट कार्यसम्पादनमा क्रियाशील रहनुपर्ने उल्लेख गर्नुभयो ।
महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूले नागरिकको सेवा, सुरक्षा र आपद् विपदमा परेकाहरूको उद्धारमा देखाएको कर्तव्यपरायणताको विभिन्न निकाय तथा नागरिक स्तरबाट समेत प्रशंसा भएको उल्लेख गर्नुभयो ।
करिब तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३६ जना सशस्त्र प्रहरी निरीक्षकहरू प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए । उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, व्यवस्थापन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरूमा सम्बन्धित विषयका विषय विज्ञहरुबाट प्रशिक्षण प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्