डेढ अर्ब लगानीमा कर्णालीका ५ जिल्लामा अस्पताल बन्दै

जुम्ला । दूर दराजका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने लक्ष्य अनुसार कर्णाली प्रदेशका पाँच जिल्लामा ५०/५० शय्या अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको १ अर्ब ५० करोड लगानीमा कर्णालीका हुम्ला, डोल्पा, दैलेख, रुकुम पश्चिम र सल्यानमा ५० शय्याका अस्पताल निर्माण हुने भएका हुन् ।
सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले कर्णालीका पाँच वटै जिल्लामा अस्पताल निर्माण अघि बढाएको कार्यालयका सब इन्जिनियर चन्द्र खड्काले बताउनुभयो ।
उहाँका अनुसार आउँदो तीन वर्षभित्र पाँच वटै जिल्लामा ५०/५० शय्याका सुविधा सम्पन्न अस्पताल निर्माण सम्पन्न हुनेछ । उहाँले भन्नुभयो, “सरकारको एक स्थानीय तह एक अस्पताल, हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रसँगै दुर्गमका जिल्लामा सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य राखेको छ ।
जस अन्तर्गत तीन वर्षभित्र कर्णालीका हुम्ला, डोल्पा, दैलेख, रुकम पश्चिम र सल्यानमा १ अर्ब ५० करोडको लागतमा ५० शय्याको अस्पताल निर्माण हुँदै छन् ।
पाँच जिल्ला मध्य हुम्ला, दैलेख र सल्यानमा अस्पताल निर्माणका लागि बोलपत्र भएर काम अघि बढेको छ । डोल्पा र रुकुम पश्चिम जिल्लाको प्रक्रियामै रहेको छ । बहु वर्षीय आयोजनाका रुपमा तीन वर्ष भित्र अस्पताल निर्माण गरी हस्तान्तरण गर्ने सब इन्जिनियर खड्काको भनाई छ ।
तीन वर्षभित्र कर्णालीका पाँच जिल्लामा ५०÷५० शय्या अस्पताल निर्माण हुने गरी कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले १ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
जसमा साबिक कर्णालीका हुम्लामा २९ करोड ६६ लाख, डोल्पामा २९ करोड १९ लाख बजेट विनियोजन भएको छ ।
त्यस्तै दैलेखमा ३६ करोड ३६ लाख, सल्यानमा २८ करोड र रुकुम पश्चिममा २८ करोड ९१ लाख गरी तीन वर्षमा अस्पताल निर्माण सम्पन्न हुने गरी १ अर्ब ५० करोड बजेट विनियोजन भएको हो ।
सातै प्रदेश मध्ये सङ्घीय सरकारले कर्णालीमा नमुना कामका रुपमा स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणलाई प्रथामिकता दिएको पाइएको छ ।
गाउँ गाउँमा निर्माण हुने ५० शय्याको अस्पतालले सर्वसाधारण नागरिकको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय रुपमा पहुँच वृद्धि हुने देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्