पर्वतका मुख्य ग्रामीण सडकमा पर्ने खोलाहरूमा धमाधम पुल निर्माण

पर्वत । पर्वतका मुख्य ग्रामीण सडकमा पर्ने खोलाहरूमा धमाधम पुल निर्माण भइरहेको छ ।
हिउँदमा गाडी गुड्ने तर बर्षात्मा बन्द रहने ग्रामीण सडकको समस्या पक्की पुल बनेपछि हट्दै गएको हो ।
हिउँदमा व्यस्त हुने ग्रामीण सडक वर्षातका करिब ७ महिनासम्म स्थानीय नदी तथा खोलाहरूमा पुल नहुँदा ग्रामीण सडकको यात्रा रोकिने गरेको थियो ।
चालु वर्ष मात्रै पर्वतका करिब आधा दर्जन मुख्य खोला नदीहरूमा पुल निर्माण सम्पन्न भइसकेका छन् । केही खोलाहरूमा निर्माणाधीन पुल आगामी असारभित्रै सम्पन्न हुने चरणमा छन् ।
पूर्वाधार विकास कार्यालय पर्वत र सडक डिभिजन कार्यालय बागलुङले निर्माण थालेका पक्की पुलले मुख्य राजमार्ग तथा कुस्मा जोड्ने सबै स्थानीय तहलाई सहज बनाउने छ । पर्वतका सातै स्थानीय तह आउजाउ गर्ने सडकको यात्रा अब बाह्रै महिना सहज हुने भएको छ ।
गण्डकी प्रदेशको सबै स्थानीय तहमा पक्की सडक सञ्जाल पुर्याउने लक्ष्यकासाथ अघिल्लो वर्षदेखि सुरु भएका सबैजसो पक्की पुल आउँदो २०७८ असारभित्रै सम्पन्न हुने तयारीमा छन् ।
केही पुल यसअघि नै सम्पन्न भइसकेको सडक डिभिजन तथा पूर्वाधार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार फलेबासको अर्चले भंगरा जोड्ने पुल निर्माण सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष नै कुस्मा २ छमर्के खुर्कोटको रिठेखोला पुल निर्माण सम्पन्न भइसकेको छ ।
गत महिना कुस्मा नगरपालिका–३ अम्बोटखोला र मोदी गाउँपालिका–६ तिलाहारस्थित रतिखोला पुलको निर्माण सम्पन्न भएको छ ।
सडक डिभिजन कार्यालयले निर्माण गरेका दुवै पुलले कुस्मा तथा मोदी गाउँपालिकालाई मध्य पहाडी राजमार्गसँग जोड्छन् ।
त्यस्तै मोदी गाउँपालिका–१ तथा कास्कीको अन्नपूर्ण गाउँपालिका–९ जोड्ने भुरुङ्दी खोला पुल यसै महिनाभित्रै सम्पन्न हुँदै छ ।
कास्कीको नयाँ पुल हुँदै म्याग्दीको घोडे पानीसम्म पुग्ने सडकमा भुरुङ्दी खोलाको पुल निर्माण भएपछि देशीबिदेशी पर्यटकको यात्रामा सहज हुनेछ ।
पूर्वाधार कार्यालयले चालु वर्षमा सकिने गरी पैयुँ गाउँपालिका–७ मा शेरा खोला, पैयुँ–४ मा गेडी खोला, मर्दी खोला र शिब्दी खोला पुल निर्माण गरिरहेको छ ।
कार्यालयका सूचना अधिकारी गौरवदास बैरागीका अनुसार चालु वर्षमा नै सक्ने गरी तीव्र रुपमा अघि बढिरहेका पुलमध्ये सबैको प्रगति ७५ प्रतिशत नाघिसकेको छ ।
कार्यालय प्रमुख कृष्ण आचार्यका अनुसार भुरुङ्दी खोला पुलको काम अन्तिम चरणमा पुगेको छ ।
त्यस्तै शेरा खोला, गेडी खोला, मर्दी खोला र शिव्दी खोलाको काम तीव्र गतिमा अगाडि बढाइएको छ ।
कोरोनाका कारण गरिएको लकडाउनले काम समयमै सम्पन्न गर्न समस्या भएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।
शेरा खोला र गेडी खोला पुल निर्माणको जिम्मा लिएको वाइएसएस निर्माण कम्पनीका प्रतिनिधि यज्ञबहादुर थापाका अनुसार गेडी खोला पुल निर्माण सकिएको छ । शेर ेला र गेडी खोला पुलले पैयुं, बिहादी र महाशिला गाउँपालिका जोडिन्छन् ।
सडक डिभिजन कार्यालय बागलुङका अनुसार पर्वतका ग्रामीण सडकलाई सहज हुने गरी चार वटा पक्की पुल निर्माणको चरणमा छन् ।
चारमध्ये मोदी गाउँपालिका–५ बाजुङ र कुस्मा नगरपालिका–३ दुर्लुङ जोड्ने अम्बोट खोला पुल निर्माण सम्पन्न भइसकेको छ ।
डिभिजन प्रमुख रामेश्वर लम्सालले, कुस्मा नगरपालिका–२ स्थित रिठेखोला, तथा पर्वतको फलेबास र बागलुङको जैमिनी नगरपालिका जोड्न काली गण्डकी पुल निर्माणको चरणमा रहेको बताउनुभयो ।
निर्माणाधीन काली गण्डकीको पुलका लागि आगामी एक वर्ष लाग्न सक्ने उहाँले जानकारी दिनुभयो ।
काली गण्डकी पुलले पर्वतको फलेबास नगरपालिका र बागलुङको जैमिनि नगरपालिका जोड्छ । पर्वतमा निर्माणाधीन यि पुलहरूले सबैजसो मुख्य बस्तीलाई समेट्छन् ।
विगतमा जेठको अन्तिम सातादेखि मंङसिरसम्म अवरुद्ध हुने ग्रामीण सडक आउँदो वर्षदेखि बाह्रै महिना सञ्चालनमा आउने स्थानीय बासीको अपेक्षा छ ।








प्रतिक्रिया राख्नुहोस्