तपाईँ सुन्दै हुनुहुन्छः

झापामा सशस्त्र प्रहरीको पाँच वटा बीओपी थपिए

भद्रपुर, झापा । भारतसँग झण्डै १४५ किलोमिटर खुला सिमाना रहेको झापामा सशस्त्र प्रहरीको पाँच वटा बीओपी थपिएका छन् ।

थपिएका बीआपीहरुको आज मेचीनगरमा आयोजित एक समारोहका बीच एकै साथ उद्घाटन गरिएको छ ।

नयाँ स्थापित नकलबन्दा बीओपी परिसरमा मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र सशस्त्र प्रहरी बल १ नं वाहिनी इटहरीका वाहिनीपति सशस्त्र प्रहरी नावय महानिरीक्षक वंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि शुभकामना मन्तव्य राख्नुहुँदै समारोहका प्रमुख अतिथि नगरप्रमुख आचार्यले सीमाको रक्षा र अवाञ्छित गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको भन्दै बीओपी स्थापनाले नागरिक र सीमानाको सुरक्षामा स्थानीय नागरिकसँग समन्वय गरी सशस्त्र प्रहरीले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

योसँगै झापामा बीओपीको संख्या १७ पुगेको छ । यसपटक मेचीनगरको नकलबन्दा, तिरिङ, भद्रपुर–३ मा ‘मेचीपारिको गाउँले परिचित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा, र गौरीगञ्ज गाउँपालिकाको आमगाछीमा बीओपी स्थापना गरिएको वाहिनीपति दाहालले जानकारी गराउनुभयो ।

अहिले सार्वजनिक भवन र अस्थायी रुपमा स्थापित बीओपीहरुको भौतिक संरचना निर्माण गरिने पनि बताइएको छ ।

यीमध्ये महेशपुर बीओपी भवनको शिलान्यास भई निर्माणका क्रममा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेट क्वाटर चन्द्रगढीका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिनुभयो ।

यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैररीगञ्ज, घेरावारी, कुञ्जीबारी, भद्रपुर र पृथ्वीनगरमा बीआपी सञ्चालनमा आइसकेका छन् ।

सीमा सुरक्षालाई मध्येनजर गर्दै नेपाल सरकारले, २०७६ मंसिर ३० गते नै देशभरिमा ११४ वटा विओपी थप्ने निर्णय गरेको थियो ।

प्रत्येक ४ किलोमिटर दूरीमा बीओपी स्थापना गर्ने सरकारको योजना अनुरुप झापामा अब २० वटासम्म बीओपी थपिने डीआइजी दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button